- सडकको दुर्गमता, पूर्वाधार अभाव र पर्याप्त प्रचार नहुँदा धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका यी सुन्दर स्थान ओझेलमा छन्
उदयपुर- पहाडको टुप्पोमुनिको भागमा पोखरी छ । जहाँ पानी मात्रै छैन, पुस्तौँदेखिको जनविश्वास छ । त्यहाँ हावा मात्रै बहँदैन, लोककथा पनि सुसाउँछन् । चराचुरुंगीको चिरबिरसँगै प्रकृतिले आफ्नै संगीत सुनाउँछ । बिहानको घाम पोखरीको पानीमा झर्दा आकाश नै पृथ्वीमा ओर्लिएको आभास हुन्छ । साँझ कुहिरोले पोखरीलाई अँगालो हाल्दा प्रकृतिले आफ्नै रहस्य ढाकेको अनुभूति हुन्छ ।
यही रहस्य, आस्था र प्राकृतिक सौन्दर्यको संगम हो– उदयपुरको रौतामाई गाउँपालिका–६ मा रहेको रौतापोखरी र ताप्ली गाउँपालिका–२ लेखगाउँमा रहेको ताप्लीपोखरी । दुवै पोखरी धार्मिक आस्थाका केन्द्र भएकाले सम्बन्धित पालिकाको नामकरणसमेत पोखरीकै नामबाट भएको छ ।
रौतापोखरी
दुवै पोखरीमा पूजापाठ गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । पुस्तौँदेखि सुनिँदै आएका किंवदन्ती र धार्मिक आस्थाले यहाँको महत्व बढाएका छन् । मौसम खुलेका वेला सगरमाथादेखि तराईका फाँटसम्म अवलोकन गर्न सकिन्छ । तर, सडकको दुर्गमता, पूर्वाधारको अभाव र पर्याप्त प्रचार नहुँदा धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका यी सुन्दर स्थान ओझेलमा छन् ।
हरेक वर्ष वैशाख १ गते दुवै पोखरीमा ठुलो मेला लाग्छ । पूजापाठसँगै नाचगान तथा धार्मिक कार्यक्रम हुन्छन् । फागुनदेखि वैशाखसम्म लालिगुराँस फुल्ने समय भएकाले यस क्षेत्रमा थप चहलपहल हुने गर्छ ।
समुद्री सतहबाट करिब पाँच हजार नौ सय फिटको उचाइमा करिब १४ रोपनी क्षेत्रफलमा रौतापोखरी फैलिएको छ । चारैतिरको जंगल र पहाडी भूगोलले यसलाई प्राकृतिक रूपमा आकर्षक बनाएको छ । दक्षिणतर्फको घना जंगलको छाया पोखरीको पानीमा देखिँदा दृश्य थप मनमोहक देखिन्छ । पोखरीको किनारमा रहेको रौतामाई देवीको मन्दिर धार्मिक आस्थाको मुख्य केन्द्र हो । रौतामाई देवीसँग भाकल गरे मनोकामना पूरा हुने विश्वासमा वर्षौंदेखि भक्तजन यहाँ पुग्दै आएका छन् । धनलाभ, निरोगिता, सन्तान प्राप्ति तथा जागिरमा बढुवासम्मका मनोकामना पूरा हुने जनविश्वास छ । भाकल पूरा भएपछि पाठी र परेवा बलि चढाउने परम्परा छ ।
रौतापोखरीसँग जोडिएको किंवदन्तीले पनि यसको धार्मिक महत्व बढाएको छ । स्थानीय भनाइअनुसार २०औँ शताब्दीतिर ओखलढुंगाको रुम्जाटारका भुजुङ गुरुङ सयौँ भेडा लिएर पोखरीको बाटो हुँदै जाँदा हराएका थिए । धेरै खोज्दा पनि नभेटिएपछि उनले रौतामाई देवीको शरणमा पुगेर भेडा भेटाइदिन आग्रह गर्दै मन्दिर बनाउने भाकल गरे । त्यसपछि भेडाको आवाज सुनिएको र सबै भेडा फेला परेको जनविश्वास छ । भेडा भेटिएपछि उनले ढुंगाको मन्दिर बनाए र पछि उनका नातिले त्यसलाई ठुलो मन्दिरमा रूपान्तरण गरेको बताइन्छ ।
पोखरीको अर्को विशेषता पनि स्थानीय विश्वाससँग जोडिएको छ । चारैतिर घना जंगल भए पनि पोखरीमा रुखका पात नदेखिने स्थानीय बताउँछन् । पात पोखरीमा खसे चराहरूले टिपेर किनारमा फालिदिने जनविश्वास छ । पोखरीको एक फन्को लगाउन करिब १० मिनेट लाग्छ । यो क्षेत्र पानीको मुहानसमेत हो । यहाँबाट त्रियुगा, राँकुली, रसुवा र बरुवालगायत खोला बग्छन् । ती खोला अन्ततः सुनकोशी र त्रियुगा हुँदै सप्तकोशीमा मिसिन्छन् ।
यस अर्थमा रौतापोखरी धार्मिक तीर्थस्थल मात्र होइन, प्राकृतिक जलाशय, जैविक विविधताको केन्द्र, दुर्लभ वनस्पतिको आश्रयस्थल तथा जलाधार प्रणालीको महत्वपूर्ण हिस्सा पनि हो ।
पौराणिक कथा र जनविश्वासमा ताप्लीपोखरी
महाभारत पर्वत शृंखलाको झन्डै एक हजार आठ सय मिटर उचाइमा कुहिरो र हरियालीको घुम्टो ओढेर बसेको छ ताप्लीपोखरी । पोखरीको किनारमा रहेको पञ्चकन्या देवीको मन्दिर मुख्य धार्मिक आकर्षण हो । प्राकृतिक रूपमा उत्पन्न भएको मानिने यस शक्तिपीठमा पूजाआराधना गर्दा मनोकांक्षा पूरा हुने, रोगव्याधि निको हुने तथा पारिवारिक सुखसमृद्धि प्राप्त हुने जनविश्वास छ । हरेक वर्ष वैशाख १ गते यहाँ ठुलो मेला लाग्छ ।
स्थानीय बुढापाकाका अनुसार प्राचीनकालमा पाँचजना कन्या यहाँ प्रकट भई जलक्रिडा गर्ने गर्थे । तिनै देवीले पोखरी निर्माण गरेको र पछि त्यहीँ अलप भएको किंवदन्ती छ । त्यसैले, यसलाई ‘पञ्चकन्या रानीपोखरी’ पनि भनिन्छ ।
ताप्लीपोखरीसँग जोडिएको अर्को रोचक विश्वास यहाँका चराचुरुंगीको व्यवहार हो । पोखरीमा रुखका पात खस्नासाथ चराहरूले ठुँगेर बाहिर फाल्ने र पानी सफा राख्ने गरेको स्थानीय बताउँछन् ।
ताप्लीको हरियो चउर, थुम्काथुम्की डाँडा र चिसो हावापानीले यसलाई गर्मी छल्ने गन्तव्यका रूपमा समेत विकास गर्ने सम्भावना छ । मौसम खुलेका वेला यहाँबाट सगरमाथा, लोत्सेलगायत हिमशृंखला देखिन्छन् । पोखरीको निलो पानीमा आकाश र हिमालको प्रतिबिम्ब देखिँदा दृश्य थप आकर्षक हुन्छ । पोखरी करिब ७५ मिटर चौँडा, ३२० मिटर लामो र तीन मिटर गहिरो रहेको बताइन्छ ।
ठुलो मेला लाग्दा स्थानीय अर्थतन्त्रसमेत चलायमान हुने गरेको छ । सिराहा, सप्तरी, उदयपुर, सिन्धुली, ओखलढुंगा र खोटाङलगायत आसपासका जिल्लाबाट हजारौँ दर्शनार्थी यहाँ पुग्छन् । तर, पर्यटकलाई एकपटक पुर्याएर फर्काउनेभन्दा केही दिन बसाउने पर्यटन विकासका लागि आधारभूत पूर्वाधार आवश्यक छ । सडकसँगै खानेपानी, शौचालय, पदमार्ग, विश्रामस्थल, सूचना केन्द्र, होमस्टे, फोहोर व्यवस्थापन र नियमित प्रचारप्रसारको अभाव छ ।
गाईघाटबाट रौतापोखरी पुग्न करिब ४५–५० किलोमिटर पहाडी बाटो तय गर्नुपर्छ । जुन सगरमाथा लोकमार्गबाट र मुर्कुचीबाट पोखरी पुग्न सकिन्छ । रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरका अनुसार पोखरीको गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । उनले भने, ‘पूर्वाधार निर्माणको कामसमेत सुरु भएको छ । पुरातात्विक शैलीको मौलिक मन्दिर निर्माण, पोखरीको झार हटाउने र सुक्खा वाल लगाउनेलगायत काम अघि बढाउने योजना छ । प्रचारप्रसार पनि पछिल्लो समय हुन थालेको छ ।’
ताप्लीपोखरी पुग्न कटारी बजारबाट बेतेनी, नुनथला हुँदै करिब ४५ किलोमिटर कच्ची सडक पार गर्नुपर्छ । यसबाट करिब पाँच घण्टामा पोखरी पुगिन्छ । गाईघाटबाट पुवाँरे–डिल्लीबर–लिम्बचुङबुङ हुँदै पनि ताप्ली पुग्न सकिन्छ । पहाडी बाटो भएकाले हिउँदमा फोर–ह्विलर वा मोटरसाइकल प्रयोग गर्नु उपयुक्त हुन्छ ।
ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्मा ताप्लीलाई कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ काम भइरहेको बताउँछन् । ‘मुख्य समस्या सडकको हो । राजनीतिक उतारचढावका कारण योजना कार्यान्वयनमा ढिलाइ हुँदै आएको छ,’ उनले दुखेसो गरे ।
धार्मिक विश्वासले पुस्तौँदेखि जोगिएका यी दुई पोखरीलाई सडक, पूर्वाधार, प्रचार र व्यवस्थित पर्यटन योजनासँग जोड्न सके रौता र ताप्लीपोखरी उदयपुरका प्रमुख पर्यटकीय गन्तव्य बन्नेमा दुईमत छैन ।