ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ स्वदेश फर्किए

शनिबार, १४ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्यान्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (युएन इएससिएपी) को पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्।

दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी उक्त सम्मेलनमा मन्त्री श्रेष्ठले नेपालले पछिल्लो समय सामना गरेका शृंखलाबद्ध जलवायुजन्य विपत्, त्यसबाट भएको ठुलो क्षति तथा हिमाली क्षेत्रको उत्थानशीलता अभिवृद्धिका लागि आवश्यक अन्तर्राष्ट्रिय सहकार्यबारे विश्व समुदायको ध्यानाकर्षण गराएका थिए।

सम्मेलनमा उनले हिमनदी, हिमताल, अस्थिर पहाडी भूभाग तथा नदी प्रणालीको नियमित अनुगमनका लागि भूउपग्रह प्रविधि, भूस्थानिक विश्लेषण र कृत्रिम बुद्धिमत्ताको प्रयोग बढाउनुपर्ने प्रस्ताव राखेका थिए। साथै, विपतको जोखिम समयमै पूर्वानुमान गरी प्रभावित समुदायसम्म सूचना पुर्याउन प्रभावकारी बहुप्रकोपी पूर्वसूचना प्रणाली विकास गर्न प्राविधिक सहकार्य, संयुक्त अनुसन्धान र राष्ट्रिय क्षमता अभिवृद्धिमा जोड दिएका थिए।

यसैगरी, ‘सगरमाथादेखि समुद्रसम्म: एसिया तथा प्रशान्त क्षेत्रमा शृंखलाबद्ध विपतप्रतिको उत्थानशीलता सुदृढ गर्न नेपालको भोटेकोशी–त्रिशूली विपतबाट सिकिएकाे पाठ’ विषयक उच्चस्तरीय क्षेत्रीय संवादमा पनि मन्त्री श्रेष्ठ सहभागी भएका थिए।

उक्त संवादमा उनले विपत् अनुगमन, पूर्वतयारी, अनुकूलन तथा हानि–नोक्सानीको सम्बोधनका लागि समयमै उपलब्ध हुने, अनुमानयोग्य, सहज पहुँचयुक्त र अनुदानमा आधारित वित्तीय सहयोग आवश्यक रहेको धारणा राखेका थिए।

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी), नेपाली राजदूतावास र नेपाल सरकारको संयुक्त आयोजनामा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपत् उत्थानशीलता अभिवृद्धि’ विषयक विशेष संगोष्ठीमा मन्त्री श्रेष्ठले प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए।

सो अवसरमा उनले भोटेकोशी–त्रिशूली क्षेत्रको पुनर्निर्माणलाई सुरक्षित बस्ती, उत्थानशील पूर्वाधार, सुरक्षित जलविद्युत् आयोजना र दिगो जीविकोपार्जन समेटिएको ‘नमुना हिमाली विकास’ अवधारणाका रूपमा अघि बढाउने नेपालको सोच प्रस्तुत गरेका थिए।

बैंकक बसाइका क्रममा मन्त्री श्रेष्ठले संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा इएससिएपीका कार्यकारी सचिव आर्मिडा साल्सियाह अलिस्याहबाना, थाइल्यान्डका उपप्रधानमन्त्री तथा उच्च शिक्षा, विज्ञान, अनुसन्धान तथा नवप्रवर्तनमन्त्री योड्चनन वोङ्सावात, भुटानका परराष्ट्रमन्त्री दिना नाथ ढुङ्ग्याल र श्रीलंकाका स्वास्थ्य तथा आमसञ्चार मन्त्री डा. नलिन्दा जयतिस्सासँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका थिए।

भेटवार्ताका क्रममा जलवायु उत्थानशीलता, प्रविधि हस्तान्तरण तथा विपत् जोखिम न्यूनीकरणका विषयमा छलफल भएको थियो।

मन्त्री श्रेष्ठ मंगलबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका थिए। भ्रमण टोलीमा नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्म उप्रेती, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला तथा जलवायु, विपद् उत्थानशीलता र अन्तर्राष्ट्रिय विकासविज्ञ एवं वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकी बोर्ड सदस्य अंकिता शाह सहभागी थिए।


 

सुझावित समाचार