पुल नहुँदा बारीमै कुहिने कृषि उपजको समस्या समाधान गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता

शनिबार, १४ कार्तिक, २०८३
डिजिटल संस्करण

गोरखा । सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्याउन नसक्दा वर्षौंदेखि समस्यामा पर्दै आएका गोरखाको गण्डकी गाउँपालिकाका किसानको समस्या समाधान गर्ने गृहमन्त्री सुधन गुरुङले प्रतिबद्धता जनाउनुभएको छ।

मतदाता भेटघाटका क्रममा गण्डकी गाउँपालिका पुग्नुभएका गृहमन्त्री गुरुङसमक्ष स्थानीयले पुल नहुँदा कृषि उत्पादनको बजारीकरणमा कठिनाइ भइरहेको गुनासो गरेका हुन्। यातायातको सहज पहुँच नहुँदा किसानले उत्पादन गरेका तरकारी समयमै बजार पुर्याउन नसकिएको र उचित मूल्य नपाउँदा कतिपय उत्पादन बारीमै कुहिएर खेर जाने गरेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार पुलको अभावले कृषि उपजको ढुवानी र बिक्री वितरणमा मात्र नभई दैनिक आवागमन तथा स्थानीय आर्थिक गतिविधिमा समेत प्रत्यक्ष असर परेको छ। वर्षभरि मेहनत गरेर उत्पादन गरेको कृषि उपज बजारसम्म पुर्याउन नसक्दा किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनीहरूको भनाइ छ।

स्थानीयका समस्या सुनेपछि गृहमन्त्री गुरुङले ज्यामीरेघाटमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो। पुल निर्माणको काम अगाडि बढेकाले लामो समयदेखि स्थानीयले भोग्दै आएको समस्या अब चाँडै समाधान हुने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

ज्यामीरेघाटमा पक्की पुल निर्माण भएपछि स्थानीयको आवतजावत सहज हुनुका साथै किसानले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपज बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ। यसले कृषि उत्पादनको बजारीकरणमा सुधार ल्याउनुका साथै किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।

वर्षौंदेखि पुलको अभाव झेल्दै आएका गण्डकी गाउँपालिकाका स्थानीयले निर्माण प्रक्रिया अघि बढेको खबरसँगै खुसी व्यक्त गर्दै अब विकास निर्माणको कामले गति लिने र आफूहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा गरेका छन्।

सुझावित समाचार