लहान । जेन–जी आन्दोलनको मौका छोपेर काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका सिराहाको धनगढीमाई- १४ का करिब ३८ वर्षीय झरेन्द्रज्यू ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध ब्राउनसुगरसम्बन्धी मुद्दामा एक लाख रुपैयाँ जरिवानासहित १५ वर्ष कैद सजाय सुनाइएका फरार ठकुरीलाई शनिबार दिउँसो सिराहाबाट पक्राउ गरिएकाे हाे ।
लागुऔषध ब्राउनसुगर १५८ ग्राम आठ सय मिलिग्रामसहित पक्राउ गरी मुद्दा चलाइएका ठकुरी अदालतको फैसलापछि केन्द्रीय कारागारमा रहेका वेला भएको आन्दोलनको क्रममा फरार भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
उनका अनुसार फरार ठकुरी गाउँघरमै लुकिछिपी बस्दै आएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी र गोलबजारस्थित लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले पक्राउ गरी सिराहा कारागारमा दाखिला गरेको छ।