मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्वकोषाध्यक्ष तथा हाल अमेरिकामा रहेका पत्रकार सुदीप सिवाकोटीले महिला पत्रकारको प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवर्द्धन कोषमा एक लाख रुपैयाँ सहयोग गरेका छन्।
सिवाकोटीले आफू र अमेरिकामा रहेका अन्य पाँच पत्रकारबाट संकलित रकम महासंघ मकवानपुर शाखालाई हस्तान्तरण गरेका हुन्। महासंघले स्थापना गरेको महिला पत्रकारको स्वास्थ्य कोषलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको उनले बताए।
सहयोग रकममा सिवाकोटीसँगै नेपाल अमेरिका पत्रकार संघ (नेजा)का पत्रकार सुरज भण्डारी, पूर्वउपाध्यक्ष सुजन पण्डित, पूर्वमहासचिव बाबुराम दाहाल, रिपोर्टर्स क्लब अमेरिकाका अध्यक्ष कृष्ण रेग्मी र कोलोराडो खबर डटकमका अध्यक्ष वासुदेव खनालको योगदान रहेको छ।
विगतमा मकवानपुरमै रहेर पत्रकारिता गरेका सिवाकोटीले आफूले काम गरेको जिल्लाका महिला पत्रकारको स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने उद्देश्यले सहयोग जुटाएको बताए। उनले साथीभाइको सहयोगबाट संकलित रकम महासंघलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा महासंघ मकवानपुरकी पूर्वउपाध्यक्ष सरला अधिकारीले पनि कोषमा १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन्। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगर प्रमुख अतिथि थिए।
महिला पत्रकारको प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्वमा सहयोग पुर्याउने उद्देश्यले महासंघ मकवानपुर शाखाले उक्त कोष स्थापना गरेको हो। कोषमा प्राप्त सहयोग महिला पत्रकारको स्वास्थ्य सुरक्षासम्बन्धी आवश्यकतामा परिचालन गर्ने लक्ष्य राखिएको छ।