नेपाल–भारत १०औँ समन्वय बैठक काठमाडौंमा सम्पन्न, सीमा सुरक्षा र प्रविधिमैत्री व्यवस्थापनमा जोड

शुक्रबार, १३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं। नेपाल र भारतका सीमा सुरक्षा निकायबिचको १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सम्पन्न भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतको सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक सञ्जय सिंघलको नेतृत्वमा सम्पन्न बैठकले सीमा सुरक्षा, प्रविधिमैत्री व्यवस्थापन तथा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

बैठकमा अघिल्लो नवौँ समन्वय बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै रणनीतिक, अपरेसनल तथा कार्यक्षेत्रीय तहमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो। सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रणका लागि समयमै सूचना आदानप्रदान र आपसी समन्वयलाई प्रभावकारी बनाउने सहमति दुवै पक्षबिच भएको छ।

बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतहरूका साथै परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। भारतका तर्फबाट सशस्त्र सीमा बलका उच्च अधिकृतहरू, काठमाडौंस्थित भारतीय दूतावास तथा भारतका विदेश र गृह मन्त्रालयका प्रतिनिधिहरू सहभागी भएका थिए।

नेपाल–भारत सीमा क्षेत्रमा शान्ति तथा सुरक्षा कायम राख्न दुवै देशका सुरक्षा निकायका युनिटहरूले प्रदर्शन गरेको व्यावसायिकता र आपसी सहकार्यको बैठकले प्रशंसा गरेको छ। साथै, सामाजिक सञ्जालको दुरुपयोग तथा भ्रामक सूचनाले आपसी सुरक्षा र सामाजिक सदभावमा पार्न सक्ने चुनौती सामना गर्न संस्थागत सहकार्य थप सुदृढ बनाउने सहमति भएको छ।

दशगजा क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अनधिकृत खेतीपाती, अतिक्रमण तथा अवैध संरचना हटाउने कार्यलाई निरन्तरता दिने निर्णयसमेत भएको छ। बाउन्ड्री वर्किङ ग्रुप र सर्भे अफिसियल्स कमिटीका निर्णयअनुसार सीमास्तम्भहरूको नियमित मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि स्थलगत तहमा समन्वय बढाउने सहमति भएको छ।

त्यसैगरी, सीमापार आपराधिक सञ्जाल, अवैध तस्करी, मानव बेचबिखन, नक्कली नोटको कारोबार, लागुऔषध ओसारपसार तथा तेस्रो मुलुकका नागरिकको अनधिकृत आवागमन नियन्त्रणका लागि सूचना आदानप्रदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

खुला सीमाको दुरुपयोग गरी हुने तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न सीमानाकाहरूमा जाँच तथा कागजात प्रमाणीकरणलाई कडा बनाउने, दशगजा क्षेत्रमा समन्वयात्मक गस्ती सञ्चालन गर्ने र शंकास्पद व्यक्तिका गतिविधिबारे तत्काल सूचना आदानप्रदान गर्ने विषयमा समेत सहमति भएको छ।

सीमा सुरक्षासम्बन्धी चुनौती सामना गर्न आधुनिक प्रविधिको प्रयोग र विशेष तालिममा सहयोग विस्तार गर्ने तथा दुवै सुरक्षा निकायबिच नियमित अध्ययन भ्रमण आदानप्रदान गरी संस्थागत सम्बन्ध थप प्रगाढ बनाउने निर्णय गरिएको छ।

परम्परागत सीमा सुरक्षा प्रणालीलाई आधुनिक तथा प्रविधिमैत्री स्मार्ट सीमा व्यवस्थापनमा रूपान्तरण गर्ने उद्देश्यले दशगजा क्षेत्रमा निगरानीका लागि सिसिटिभी जडान, प्रमुख सीमानाकाहरूमा लगेज स्क्यानर तथा वाक–थ्रु मेटल डिटेक्टर राख्ने र दुवै देशले आ–आफ्नो भूभागमा ड्रोनको प्रयोग बढाउने विषयमा गहन छलफल भएको छ।

प्राकृतिक विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन बाढी, पहिरो तथा भूकम्पजस्ता विपतकाे सामना गर्ने उद्देश्यले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपालको विपत् व्यवस्थापन तालिम शिक्षालयमा ‘Joint Swift Water Rescue Exercise’ सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ।

वैधानिक रूपमा सीमा पार गर्ने यात्रुलाई सहज सेवा उपलब्ध गराउन सीमानाकाहरूमा सहायता कक्ष विस्तार गर्ने सहमति पनि भएको छ। यसका अतिरिक्त मैत्रीपूर्ण खेलकुद प्रतियोगिता तथा विभिन्न अन्तर्राष्ट्रिय दिवस र प्रमुख चाडपर्वका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरी दुई देशबिचको आपसी विश्वास, मित्रता र सदभाव अभिवृद्धि गर्ने निर्णय गरिएको छ।

सन् २०१२ देखि नेपाल र भारतमा पालैपालो आयोजना हुँदै आएको सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबिचको द्विपक्षीय समन्वय बैठकको ११औँ संस्करण आगामी वर्ष भारतमा आयोजना गरिने भएको छ।
 

सुझावित समाचार