तत्काल संसद् अधिवेशन बोलाउन कांग्रेसको माग

सोमबार, १६ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो समय सार्वजनिक भएका विवादित घटनाक्रम तथा बिचौलिया प्रकरणको निष्पक्ष छानबिन गर्न तत्काल संसद् अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ।

सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री, न्यायपालिका र नेपाल प्रहरीका उच्च अधिकारीसमेत आरोपित बनेको अवस्थामा सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन्।

उनले ‘इनम सापकोटा प्रकरण’लगायतका घटनामा गम्भीर आशंका उत्पन्न भएकाले निष्पक्ष र पारदर्शी अनुसन्धान आवश्यक रहेको बताए। यसका लागि तत्काल संसद् बैठक बोलाउनुपर्ने र अन्य विपक्षी दलसँग पनि छलफल अघि बढाइने उनको भनाइ छ।

कांग्रेस संसदीय दलको बैठकले पत्रकार पक्राउ तथा धरपकडका घटनासहित पछिल्ला विवादित सरकारी गतिविधिको छानबिन गर्न छुट्टै संसदीय विशेष समिति गठन गर्नुपर्ने निर्णयसमेत गरेको छ।

बैठकले सरकारका पछिल्ला गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक निकायको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालेको छ।

पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालन गरिएको घटनाप्रति आपत्ति जनाउँदै नेता आङ्देम्बेले स्पष्ट कानुनी आधार, पक्राउ पुर्जी वा अदालतको अनुमतिविना समाचारकक्षमै प्रहरी परिचालन गर्नु स्वतन्त्र पत्रकारितामाथिको अनुचित हस्तक्षेप भएको टिप्पणी गरे। यसबारे सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्ने कांग्रेसको माग छ।

कांग्रेसले जनसरोकार र सुशासनका विषयमा सरकारले गर्ने सकारात्मक काममा सहयोग गर्ने जनाएको छ। तर, लोकतान्त्रिक मूल्य, विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकार अघि बढेमा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ।

त्यस्तै, न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक संरचनाको संरक्षण हुनुपर्नेमा जोड दिँदै कांग्रेसले सरकारको वर्तमान कार्यशैलीले संवैधानिक निकायलाई कमजोर बनाउने र आफूअनुकूल शासन व्यवस्था स्थापित गर्ने प्रयास भइरहेको आरोप लगाएको छ।


 

सुझावित समाचार