भारी हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकाेप्टरमार्फत उद्धार

सोमबार, १६ कार्तिक, २०८३
डिजिटल संस्करण

डोल्पा । डोल्पाको शे–फोक्सुन्डाे गाउँपालिका– ८ मा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको हेलिकाेप्टरमार्फत सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्राप्त जानकारीअनुसार, ०८३ कात्तिक १४ गते शे–फोक्सुन्डाे गाउँपालिका– ८ मा ६ जना भारतीय पर्यटक भारी हिमपातका कारण फसेको सूचना प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो। बैठकले पर्यटकहरूको उद्धारका लागि हेलिकाेप्टरको व्यवस्था गर्न आवश्यक प्रक्रिया अघि बढाउनुका साथै सम्बन्धित निकायसँग समन्वय गरेको थियो।

उद्धारका लागि कात्तिक १५ गते सुर्खेतबाट नेपाली सेनाको हेलिकाेप्टर पठाउने तयारी गरिए पनि प्राविधिक समस्याका कारण उडान हुन सकेन। त्यसैगरी, सिम्रिक एयरको हेलिकाेप्टरसँग समेत समन्वय गरिएकोमा प्राविधिक समस्या देखिएपछि सो दिन उद्धार कार्य सम्भव हुन सकेन।

कात्तिक १६ गते बिहान ७:२० बजे पोखराबाट आएको सिम्रिक एयरको हेलिकाेप्टर डोल्पाको दुनैमा अवतरण गरेको थियो। उक्त हेलिकाेप्टर बिहान ७:३५ बजे उद्धारका लागि शे–फोक्सुन्डाे गाउँपालिका– ५ स्थित दानिगढतर्फ उडेको थियो। बिहान ९:२५ बजे ६ जना भारतीय पर्यटकको सफलतापूर्वक उद्धार गरिएको हो।

उद्धार गरिएका पर्यटकहरूमा भारतको पश्चिम बंगाल राज्यको हावडाकी ३४ वर्षीया प्याली कोली, साउथ २४ परगनाका ३५ वर्षीया मोमिता हल्दार, २४ वर्षीया दिपलिना विश्वास, आन्ध्र प्रदेशका २८ वर्षीय जजला त्रिवेत कुमार, साउथ २४ परगनाका ३२ वर्षीय राजेश देव र नर्थ २४ परगनाका ३२ वर्षीय आदित्य सिंह रहेका छन्।

उद्धारपछि सबै पर्यटकलाई जिल्ला अस्पताल दुनै ल्याइएको थियो। अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण तथा उपचारपछि उनीहरू सबै डिस्चार्ज भएका छन्।

भारी हिमपातका कारण जोखिममा परेका पर्यटकहरूको समयमै उद्धार भएपछि ठुलो मानवीय क्षति हुनबाट जोगिएको छ।

सुझावित समाचार