चार घण्टा लाग्ने बाटो झोलुंगे पुलले १० मिनेटमै पुगिने

शुक्रबार, १३ कार्तिक, २०८३
डिजिटल संस्करण

सिन्धुपाल्चोक । जुगल गाउँपालिका– १, सेलाङका किसान घरनजिकै रहेको खेत पुग्न चार घण्टा हिँड्नुपर्ने समस्याले हैरान थिए । खेत र गाउँको बिचमा रहेको ठाडो काल्चे खोलाले गर्दा वर्षौँदेखि यहाँका किसानले यस्तो समस्या भोग्नुपरेको थियो । 

अब उनीहरूको दैनिकीमा सहजता आएको छ । जसको कारण हो झोलुंगेपुल । खोला तर्न नसकेर चार घण्टा हिँड्नुपर्ने बाध्यताको अब अन्त्य भएको छ। सेलाङवारिका दुई सय किसान परिवार पुलबाट आवतजावत गर्न पाउँदा धेरै खुसी भएका छन् ।

बागमती प्रदेश सरकारले दिएको एक करोड ७८ लाखमा १९६ मिटर लामो झोलुंगे पुल बनेपछि यहाँका किसान घरबाट १० मिनेटमै खेतमा पुग्न सक्ने भएका छन् । स्थानीय किसानको समस्या समाधान गर्न गाउँका अगुवा टंकबहादुर सिलवाल र विक्रम सिलवालले प्रदेश सरकारसँग पुलको माग गरेका थिए ।

दुई सय किसान परिवारले खेतीपाती गर्ने काल्चे खेतमा पुग्न र वरिपरिका पाँच सय घरका लागि आवातजावत गर्न सहज हुने सिलवालद्वयले बताएपछि प्रदेश सरकारले तत्काल बजेट विनियोजन गरेको थियो ।

पुलले बाटो छोट्याएपछि किसानलाई खेतीपाती मात्रै होइन, घाँसदाउरा र वस्तुभाउ लान–ल्याउन पनि सहज भएको छ। सेलाङ, भोटेसेलाङ र धारापानीका स्थानीय पुलबाट लाभान्वित भएका छन्।
 

सुझावित समाचार