चालू आर्थिक वर्ष ०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा ४५.५९ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । चालू आवको पहिलो त्रैमासमा भने १९ अर्ब १४ करोड ५४ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
रसुवा भोटेकोशी, बुढीगण्डकी बाढीलगायतका प्राकृतिक प्रकोपले कर्जा असुली प्रभावित भइरहेको अवस्थामा समेत बैंकहरूले नाफा उच्च दरमा बढाएका छन् । समीक्षा अवधिमा नबिल बैंकले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । तथ्यांकअनुसार पहिलो त्रैमासमा दुई अर्ब ५५ करोड ५१ लाख पाँच हजार रुपैयाँ नबिल बैंकले कमाएको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले दुई अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ ।
तेस्रो स्थानमा रहेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ६४ करोड ९६ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । यसैगरी, एभरेस्टले एक अर्ब २५ करोड २७ लाख १९ हजार, प्राइम कमर्सिलयले एक अर्ब १८ करोड ७६ लाख ५७ हजार, नेपाल इन्भेस्टमेन्ट मेगाले एक अर्ब १८ करोड १४ लाख २१ हजार र एनएमबि बैंकले एक अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
यसैगरी कुमारीले एक अर्ब सात करोड ४५ लाख पाँच हजार, सानिमाले एक अर्ब पाँच करोड १४ लाख ६८ हजार, सिद्धार्थले ८५ करोड १५ लाख ६५ हजार, नेपाल बैंकले ८३ करोड २१ लाख ८७ हजार, स्ट्यान्डर्ड चार्टर्डले ६७ करोड १४ लाख ४४ हजार र हिमालयन बैंकले ६५ करोड ४८ लाख ३१ हजार खुद नाफा कमाएका छन् ।
यस्तै, लक्ष्मी सन्राइजले ६५ करोड ३३ लाख ८५ हजार, प्रभुले ६० करोड ३७ लाख ३१ हजार, नेपाल एसबिआईले ५५ करोड २२ लाख १५ हजार र माछापुच्छ«ेले ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यस्तै, एनआइसी एसियाले १२ करोड ७४ लाख ४२ हजार, कृषि विकासले १० करोड ९२ लाख ३५ हजार र सिटिजन्सले १० करोड ७७ लाख तीन हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
तर, नौ अर्ब ऋणात्मक वितरणयोग्य नाफा
समीक्षा अवधिमा १९ अर्बभन्दा धेरै नाफा कमाए पनि बैंकहरूको वितरणयोग्य नाफा भने नौ अर्ब सात करोड ८० लाख रुपैयाँले ऋणात्मक छ । नियामकीय प्रोभिजन, खराब कर्जा व्यवस्थापनलगायतका कोषमा नाफाको रकम राख्नुपर्दा वितरणयोग्य नाफा प्रभावित भएको बैंकरहरू बताउँछन् ।
केन्द्रीय बैंकले तोकेका विभिन्न शीर्षकमा बैंकहरूले प्रोभिजन राख्नुपर्छ । असुल नभएको ऋण तथा साँवा–ब्याजसहित खराब कर्जाबापत बैंकहरूले प्रोभिजन राख्नुपर्छ । विगत केही वर्षदेखि नै बैंकहरूको कर्जा असुली प्रभावित भइरहेको छ । पछिल्लो समय पटक–पटक आएको बाढी तथा प्राकृतिक विपत्ले पनि बैंकहरूको कर्जा असुलीमा असर पर्नेछ । त्यसले गर्दा वितरणयोग्य नाफा प्रभावित हुने देखिन्छ ।
समीक्षा अवधिमा १५ बैंकको वितरणयोग्य नाफा बचतमै देखिएको छ । तर, पाँच बैंकको वितरणयोग्य नाफा उच्च अंकमा ऋणात्मक छ । तथ्यांकअनुसार एनआइसी एसियाको १५ अर्ब ३९ करोड ६९ लाख, हिमालयन बैंकको नौ अर्ब ७९ करोड ८५ लाख, प्रभुको ६ अर्ब ७८ करोड ७७ लाख, नेपाल इन्भेस्टमेन्ट मेगाको पाँच अर्ब १६ करोड १६ लाख र सिटिजन्सको ४४ करोड ८४ लाख १५ हजारले वितरणयोग्य नाफा ऋणात्मक छ ।
अन्य १५ बैंकको भने कुल २८ अर्ब ५१ करोड ५० लाख ९४ हजार रुपैयाँबराबरको वितरणयोग्य नाफा छ । यी दुवैलाई समायोजन गर्दा समग्र वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा नौ अर्ब हाराहारी ऋणात्मक रहेको देखिन्छ ।
निष्क्रिय कर्जा ५.६४ प्रतिशत
असोज मसान्तसम्म २० वाणिज्य बैंकको औसत निष्क्रिय कर्जा अनुपात ५.६४ प्रतिशत पुगेको छ । गत आवको असोज मसान्तसम्म यस्तो अनुपात ४.८५ प्रतिशत थियो । अहिले त्यो थप बढेर ५.६४ प्रतिशत पुगेको छ ।
तथ्यांकअनुसार प्रभु बैंकमा सबैभन्दा धेरै १४.८ प्रतिशत निष्क्रिय कर्जा अनुपात देखिएको छ । असोज ०८२ मा उक्त बैंकमा यस्तो अनुपात ५.७८ प्रतिशत मात्रै थियो । यस्तै, एनआइसीमा ९.८१ र नेपाल इन्भेस्टमेगा बैंकमा ८.८७ प्रतिशत निष्क्रिय कर्जा पुगेको छ । समग्रमा आठ बैंकको निष्क्रिय कर्जा अनुपात पाँच प्रतिशतभन्दा माथि छ ।
आर्थिक गतिविधि सुस्त हुँदा पहिलेदेखि नै बैंकहरूको कर्जा असुली प्रभावित भइरहेको थियो । पछिल्ला बाढीपहिरोलगायतका कारण कर्जा असुली थप प्रभावित भएको छ । त्यसले गर्दा बैंकहरूको निष्क्रिय कर्जा अनुपात बढेको देखिन्छ ।