चोरी आरोपको बदला लिन हत्या : दुई किशोरसहित तीनजना पक्राउ

बुधबार, ११ कार्तिक, २०८३
डिजिटल संस्करण

विराटनगर/ विराटनगरका व्यापारीको हत्या आरोपमा प्रहरीले मुख्य योजनाकारसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय र एक नेपाली किशोरसमेत छन्। भारतको वाराणसी स्थायी घर भई विगत चार दशकदेखि विराटनगरको महावीर रोडमा लाल ब्याट्री एन्ड सन्स ट्रेडर्स सञ्चालन गर्दै आएका ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या आरोपमा मोरङ र सुनसरी प्रहरीको संयुक्त टोलीले मंगलबार साँझ तीनजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मुख्य योजनाकार भनिएका विराटनगर महानगरपालिका–६, स्वागत चोकका ३६ वर्षीय अफरोज आलम तथा शव व्यवस्थापन र ओसारपसारमा सघाउने १३ वर्षीय भारतीय किशोर र १६ वर्षीय नेपाली किशोर रहेका प्रहरीले जनाएको छ। आलमले महावीर चोकमा हार्डवेयरको गोदाम सञ्चालक गर्दै आएका थिए।

कात्तिक ६ गते शुक्रबार दिउँसो करिब ३ बजे पसलबाट निस्किएका व्यापारी गुप्ता सम्पर्कविहीन बनेका थिए। त्यसको दुई दिनपछि ८ कार्तिक बिहान मोरङ र सुनसरीको सिमानामा पर्ने बर्जु गाउँपालिका–२, भीमपुरस्थित केसलिया खोलाको किनारमा शव बेवारिसे अवस्थामा फेला परेको थियो।

सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लका अनुसार विराटनगर–६ स्थित माता इलेक्ट्रिक वर्क्सबाट पानी तान्ने मोटरको तार आलमले चोरी गरेको भन्दै गुप्ताले बजारमा हल्ला फैलाइदिएका थिए। आफूलाई ‘चोर’ भनेर हल्ला चलाएको भन्दै आलम गुप्तासँग रिसाएका थिए। यसैको बदला लिन आलमले मौका खोजिरहेका प्रहरीको अनुमान छ। दसैँको अवसर पारेर उनले ६ कात्तिक साँझ गुप्तालाई पाहुना खान बोलाएका थिए।

योजनाअनुसार आफ्नै घरमा बोलाएर मादक पदार्थ सेवन गराई बोतल र रडले हानेर हत्या गरेपछि उनले दुई किशोरको सहयोगमा शव बोरामा हालेर केसलिया खोलामा सुनसरीको बर्जु गाउँपालिकातर्फ फ्याँकेको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार