ललितपुरको कुपण्डोलस्थित नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा चारदिने छैटौँ अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन ‘काठमाडौं सिम्पोजिया अन एडभान्स्ड मटेरियल्स (कासाम) २०२६’ आज बुधबारदेखि सुरु भएको छ।
नेपाल पोलिमर इन्स्टिच्युट, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको पश्चिमाञ्चल क्याम्पस (पोखरा) र नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीको संयुक्त आयोजना तथा विश्वविद्यालय अनुदान आयोग नेपालको सहयोगमा सुरु सम्मेलनमा स्वदेश तथा विदेशबाट १४३ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत हुँदैछन्।
सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगका सदस्य प्राडा सुदन झाको प्रमुख आतिथ्यमा भयो। उद्घाटन समारोहपश्चात् सम्मेलनका प्रमुख प्राडा रामेश्वर अधिकारीको अध्यक्षतामा ‘दिगो भविष्यका लागि स्मार्ट तथा बहुउपयोगी पदार्थ’ विषयक विशेष सत्र सञ्चालन हुने जानकारी सम्मेलनका संयोजक डा. हरिशरण अधिकारीले दिए।
सम्मेलनमा ५ वटा प्रमुख सम्बोधन, ३५ वटा आमन्त्रित कार्यपत्र, ६ वटा विषयगत व्याख्यान र २७ वटा अनुसन्धानमूलक प्रस्तुतिसहित ७३ वटा मौखिक कार्यपत्र तथा नवोदित वैज्ञानिकहरूका ७० वटा पोस्टर शोधपत्र प्रस्तुत हुनेछन्। कार्यक्रममा विदेशी वैज्ञानिकहरू प्राडा असा ब्राडम्यान, प्राडा पिटर टिमासेभ, प्राडा सातोरु सुकादा तथा नेपाली वैज्ञानिकहरू प्राडा हेमराज पन्त, प्राडा अमरप्रसाद यादव र डा सुरेशकुमार ढुङ्गेललगायतले न्यानो तथा जैविक प्रविधि, हरित ऊर्जा, आधुनिक ऊर्जा भण्डारण प्रणाली, सिमुलेसन र जैविक पदार्थका क्षेत्रमा नवीन खोजहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको सहसंयोजक डा शंकर खतिवडाले जानकारी दिए।
यसका साथै युवा वैज्ञानिकहरूको भूमिका, दिगो शहर निर्माणका प्रविधि र बाँसजस्ता स्थानीय स्रोतलाई आधुनिक विज्ञानसँग जोड्ने विषयमा तीनवटा छुट्टाछुट्टै गहन गोलमेच छलफल समेत समावेश गरिएको छ।
सम्मेलनमा सहभागी उत्कृष्ट शोध तथा पोस्टर प्रस्तुतकर्ताहरूलाई पुरस्कृत गरिनुका साथै सम्मेलन समापनपश्चात् सहभागी वैज्ञानिकहरूलाई मकवानपुरको चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत वैज्ञानिक अध्ययन भ्रमण गराइने कार्यक्रम रहेको कार्यक्रमका अर्का सहसंयोजक डा केदार ढकालले बताए।