भोटेकोशीको बाढीमा बेपत्ता भएको ६० दिनपछि हेटौँडाका प्रदीपको कुशको शव बनाएर अन्त्येष्टि

मकवानपुरका बेपत्ता ५८ जनाको विवरण प्रमाणीकरण गर्दै जिल्ला प्रशासन

आइतबार, ८ कार्तिक, २०८३
डिजिटल संस्करण

मकवानपुर । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका हेटौँडा– ५ का २५ वर्षीय प्रदीप सापकोटाको ६० दिनसम्म अवस्था पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ ।

बेपत्ता भएको दुई महिनासम्म पनि शव फेला नपरेपछि परिवारले आइतबार हेटौँडा– १० स्थित राप्ती नदी किनारमा धार्मिक विधिअनुसार कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेको हो । 

लामो समयसम्म खोजी गर्दा पनि प्रदीपको अवस्थाबारे कुनै जानकारी नआएपछि परिवारले हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरेको हो ।

प्रदीपका बुवा बाबुराम सापकोटाले छोराको अन्त्येष्टि गर्नसमेत आर्थिक अभाव झेल्नुपरेको थियो । छोराको अवस्थाबारे जानकारी नपाएपछि काजकिरिया गर्ने खर्च जुटाउन नसकेको भन्दै उनी केही दिन अघि जिल्ला प्रशसान कार्यालय मकवानपुर पुगेका थिए ।

प्रदीप रोजगारीका सिलसिलामा रसुवा पुगेका थिए । निर्माणाधीन जलविद्युत् आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका उनी भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका थिए । बाढी आउनुअघि उनले परिवारसँग दसैँमा घर फर्किने बताएका थिए । तर, त्यसपछि उनको अवस्था पत्ता लाग्न सकेन ।
 

हेटौँडाका प्रदीप मात्र होइन, भोटेकोशीको बाढीमा बेपत्ता भएका मकवानपुरको थाहा नगरपालिका– ३ का नेपाली सेनाका जमदार प्रदीप बर्तौला, सोही स्थानका प्रशान्त कार्की तथा थाहा– ६, बज्रवराहीका रञ्जन अधिकारी र रेलबहादुर अधिकारीका परिवारले पनि उनीहरूको शव फेला नपरेपछि कुशकै शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् । लामो समयसम्म पनि उनीहरूको अवस्था नखुलेपछि परिवारले धार्मिक परम्पराअनुसार किरियाकर्म गरिएको हो ।

बेपत्ताहरूको विवरण प्रमाणीकरण गर्दै जिल्ला प्रशासन कार्यालय 
यसैबिच जिल्ला प्रशासन कार्यालय मकवानपुरले परिवारले अन्तिम संस्कार गरिसकेकासहित भोटेकोशी बाढीमा बेपत्ता भएका मकवानपुरका ५८ जनाको कानुनी अवस्था टुंग्याउन विवरण संकलन र प्रमाणीकरणको प्रक्रिया अघि बढाइएको छ । 

बेपत्ता भएकाहरूलाई प्रशासनले मृत घोषणा गर्ने प्रक्रियाका लागि विवरण यकिन गर्न थालेकोे हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार असोज २३ गते नेपाल राजपत्रमा प्रकाशित विपतसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र ‘भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्ने विशेष प्रक्रिया, २०८३’ अनुसार प्रमाणीकरण अघि बढाइएको हो ।

बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तह, जिल्ला विपत् व्यवस्थापन समिति र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत विवरण यकिन गरिने प्रजिअ अधिकारीले बताए । परिवारको निवेदन, स्थानीयतहको प्रमाणीकरण र दाबीविरोधपछि विवरण अन्तिम रूप दिइने छ ।

सम्बन्धित स्थानीय तहले वडा कार्यालयमार्फत बढीमा पाँच दिनको समय दिएर निवेदन आह्वान गर्ने प्रजिअ अधिकारीले बताए । उनका अनुसार बेपत्ता व्यक्तिका परिवारले नाता प्रमाणित हुने कागजात र स्वघोषणासहित निवेदन दिनुपर्नेछ । परिवारका सदस्य नभएको अवस्थामा स्थानीय प्रहरी र वडा सचिवको रोहवरमा सर्जमिन मुचुल्का तयार गरिने व्यवस्था रहेको उनको भनाइ छ ।

प्राप्त निवेदन तथा विवरणमा स्थानीय तहले तीन दिनको दाबीविरोधको समय दिनुपर्ने प्रजिअ अधिकारीले बताए । त्यसपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ । जिल्ला विपत् व्यवस्थापन समितिले पाँच दिनभित्र निर्णय गरी प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा विवरण पठाउने व्यवस्था रहेको उनले जानकारी दिए ।

मकवानपुरमा सम्बन्धित वडा कार्यालयले बेपत्ता व्यक्तिका सम्पर्क व्यक्तिको विवरण कात्तिक ११ भित्र पालिकामा पेस गर्नुपर्ने समयसीमा तोकिएको छ । स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहितको विवरण कात्तिक १८ भित्र जिल्ला समितिमा पठाउनुपर्नेछ ।
 

पालिकाबाट विवरण समयसीमाअघि नै प्राप्त भए कात्तिक १८ नपर्खी बाँकी प्रक्रिया अघि बढाइने अधिकारीले बताए । उनका अनुसार विवरण संकलन तथा प्रमाणीकरणपछि बेपत्ता व्यक्तिको कानुनी अवस्था निर्धारण गर्ने प्रक्रिया अघि बढ्नेछ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बेपत्तामध्ये सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका २१ जना छन् । थाहा नगरपालिकाका २०, मनहरी गाउँपालिकाका चार, मकवानपुरगढी र बकैया गाउँपालिका तीन–तीन, भीमफेदी गाउँपालिकाका दुई, इन्द्रसरोवर र कैलाशका दुई–दुई तथा राक्सिराङका एकजना बेपत्ता छन् ।

बाढीमा परेका मकवानपुरका ४५ जनाको उद्धार गरिएको थियो भने हेटौँडाका तीन र भीमफेदीका एक गरी चारजनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

सुझावित समाचार