देश गम्भीर राजनीतिक र आर्थिक संकटमा छ : प्रचण्ड

शनिबार, ७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको बताएका छन्। शनिबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत दुईमहिने ‘राष्ट्रिय जागरण अभियान’ उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले जारी गरेको अपिलमा दुईतिहाइ बहुमतसहित गठन भएको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढेको उल्लेख गरेका छन्। उनले महँगीका कारण जनजीवन कष्टकर बन्दै गएको, बेरोजगारी बढिरहेको र युवाको विदेश पलायन गम्भीर समस्याका रूपमा देखिएको बताए।

उनले वर्तमान सरकार लोकतान्त्रिक संस्था, नागरिक अधिकार र प्रेस स्वतन्त्रताप्रति असहिष्णु बनेको आरोपसमेत लगाए। फरक मत राख्ने, बोल्ने र सरकारलाई प्रश्न गर्ने नागरिकको स्वतन्त्रतामाथि अंकुश लगाउने प्रवृत्ति बढिरहेको दाबी गर्दै उनले यसले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोखिममा पारेको बताए।

रसुवाको भोटेकोशीमा आएको बाढीपछिको उद्धार कार्यमा भएको ढिलाइप्रति पनि प्रचण्डले असन्तुष्टि व्यक्त गरे। विपतका वेला नागरिकको जीवनरक्षा गर्न राज्य प्रभावकारी हुन नसकेको आरोप लगाउँदै उनले उद्धारमा आधुनिक प्रविधि र पर्याप्त जनशक्ति परिचालन गर्न नसकिएको बताए।

नेकपाले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन गर्ने राष्ट्रिय जागरण अभियानमार्फत संगठन विस्तार, राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकासँग सम्बन्धित समस्या समाधानलाई प्राथमिकता दिने जनाएको छ।

 

सुझावित समाचार