काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ६ गतेसम्मको १३ दिनको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मापसे गरी सवारी चलाएको आरोपमा कारबाहीमा परेका ९४७ जनामध्ये ५९ जना सार्वजनिक सवारीका चालक रहेका छन्। त्यस्तै, लापसे गरी सवारी चलाउने ३५ जना नै सार्वजनिक सवारीका चालक रहेको उनले जानकारी दिए।
चाडपर्वका समयमा सवारीसाधनको चाप बढ्ने र मापसे तथा लापसे गरी सवारी चलाउँदा दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले ट्राफिक प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको जनाएको छ। सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात सुनिश्चित गर्न अनुगमन र कारबाहीलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ।