सुनसरीमा लागुऔषध बरामद प्रकरण : भिडियोको गलत व्याख्या गरी भ्रम फैलाइएको प्रहरीको दाबी

शनिबार, ७ कार्तिक, २०८३
डिजिटल संस्करण

सुनसरी । सुनसरीमा मोटरसाइकलसहित लागुऔषध बरामद गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टीका–टिप्पणी भइरहेका वेला सशस्त्र प्रहरीले भिडियोको गलत व्याख्या गरी सुरक्षाकर्मीमाथि भ्रम फैलाउने प्रयास भएको दाबी गरेको छ।

गत कात्तिक ४ गते सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ४ स्थित नहर चोकबाट लागुऔषधसहित मोटरसाइकल बरामद गरेको थियो।

सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाका आधारमा दिउँसो करिब २ः३० बजे खटिएको टोलीले नहर चोकबाट करिब ५० मिटर उत्तरपूर्वतर्फ पार्किङ गरिएको अवस्थामा प्रदेश १–०२–०४७ प १४७२ नम्बरको मोटरसाइकल फेला पारेको थियो। मोटरसाइकलचालक फेला नपरेपछि उक्त मोटरसाइकललाई करिब १५–२० मिटर दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गतर्फ ल्याएर संयुक्त टोलीले जाँच गरेको थियो।

जाँचका क्रममा एक्कासि ५० देखि ५५ जनासम्म स्थानीय भेला भएर सुरक्षाकर्मीको काममा बाधा पुर्याएको तथा बरामद लागुऔषध लुट्ने र प्रमाण नस्ट गर्ने प्रयास गरेको सशस्त्र प्रहरीको दाबी छ।

सोही क्रममा भुइँमा खसेको कालो प्लास्टिकमा रहेको पदार्थ सुरक्षाकर्मीले टिपेर मोटरसाइकल भएकै स्थानमा राखेको र त्यही दृश्यलाई गलत अर्थ लगाएर सामाजिक सञ्जालमा भिडियो फैलाइएको डिएसपी थापाले बताएका छन्। उनका अनुसार यस घटनालाई सुरक्षाकर्मीको मिलेमतोमा लागुऔषध राखेर फसाइएको भन्दै प्रचार गरिएको छ।

संयुक्त टोलीले गरेको जाँचका क्रममा नाइट्रोजन ट्याब्लेट १० पत्ता, ट्रामाडोल १६ पत्ता र अन्य लागुऔषध चार थान बरामद भएको प्रहरीले जनाएको छ। बरामद मोटरसाइकल र लागुऔषध आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको थियो।

सशस्त्र प्रहरीका अनुसार जिल्लामा लागुऔषध तथा तस्करी नियन्त्रणका लागि सुरक्षा निकाय सक्रिय रूपमा परिचालित भइरहेका वेला घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत गरेर सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने र सर्वसाधारणमा भ्रम सिर्जना गर्ने प्रयास भएको छ।

 

सुझावित समाचार