मकवानपुर। हेटौँडा उपमहानगरपालिका– ८, भावनामार्गमा श्रीमान् मृत र श्रीमती घाइते अवस्थामा भेटिएको घटनामा मृतककी श्रीमतीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी परेको छ ।
मृतक ४६ वर्षीय शंकर कार्कीका भतिज विशाल कार्कीले उनकी श्रीमती चरिमाया कार्कीविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका हुन् ।
शुक्रबार बिहान शंकर घरको दोस्रो तलामा फलामको डन्डीमा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उनकी श्रीमती चरिमाया भने भान्साकोठामा घाइते अवस्थामा भेटिएकी थिइन् ।
प्रहरीका अनुसार श्रीमान्–श्रीमतीबिच विवाद भएको देखिएको छ । विवादका क्रममा चरिमायामाथि धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनको मुख, टाउको र दुवै खुट्टामा गम्भीर चोट लागेको छ ।
घाइते चरिमायाको सुरुमा हेटौँडा अस्पतालमा उपचार गरिएको थियो । अहिले कान्छा छोराको जिम्मामा भरतपुर अस्पतालमा उनको थप उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट रगत लागेको ढुंगाको लोहोरो, धारिलो हतियार र इँटासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । मृतक शंकरको शव शनिबार बिहान पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमपछि शव परिवारलाई बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । उपचाररत चरिमायाको स्वास्थ्य अवस्थाबारे बुझ्दै उनीसँग सम्बन्धित अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
चरिमायाविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी परे पनि घटनाको वास्तविक कारण र त्यसमा संलग्न व्यक्तिबारे अनुसन्धानबाट थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।