काठमाडौं/ बुढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडकखण्डअन्तर्गत बेनीघाटदेखि तातोपानीसम्मको सडक पुनः सञ्चालनमा आएको छ।
पूर्वाधार विकासमन्त्री सुनील लाम्सालका अनुसार खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण गरिएको छ। सो क्षेत्रमा बाढीले थुपारेको ढुंगा, माटो तथा गेग्र्यान हटाएपछि यातायात सेवा सुचारु भएको हो।
सडक अवरुद्ध भएपछि स्थानीय जनजीवन प्रभावित बनेको थियो। मन्त्री लाम्सालले तत्कालका लागि सडक खुलाइएको जानकारी दिँदै अब स्थायी रूपमा सडक स्तरोन्नति गर्ने योजना रहेको बताए। त्यसका लागि आवश्यक अध्ययन तथा रेखांकन गरी निर्माण कार्य अघि बढाइने उनको भनाइ छ।