काठमाडौं। दसैँको अवसरमा सशस्त्र प्रहरी बलले काठमाडौं उपत्यकामा सञ्चालन गरेको निःशुल्क बससेवाबाट दुई दिनमा एक हजारभन्दा बढी यात्रु लाभान्वित भएका छन्।
सशस्त्र प्रहरी बलका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार सोमबार ४५० र मंगलबार ६१३ जना सर्वसाधारणले निःशुल्क बससेवाको उपयोग गरेका छन्। दुई दिनमा कुल एक हजार ६३ जना यात्रुले सेवा लिएका हुन्।
दसैँका वेला सार्वजनिक यातायातको अभाव हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले सोमबारदेखि उपत्यकाभित्र निःशुल्क बससेवा सञ्चालनमा ल्याएको हो। हाल दुईवटा बसमार्फत बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान भइरहेको छ।
सशस्त्र प्रहरी बलका अनुसार सुरुमा तीन दिनका लागि सञ्चालन गर्ने योजना बनाइएको यो सेवा यात्रुको आवश्यकता हेरेर थप एक दिन विस्तार गर्न सकिनेछ।
दसैँको समयमा सर्वसाधारणको आवागमन सहज बनाउने र सार्वजनिक यातायातको अभावबाट हुने असुविधा कम गर्ने उद्देश्यले निःशुल्क बससेवा सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।