हेटौँडा। बंगालको खाडीमा विकसित चक्रवात अर्नबको प्रभावले मकवानपुरमा निरन्तर वर्षा भएपछि जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
सम्भावित बाढीपहिरोबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न कात्तिक १३ र १४ गते बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै कात्तिक १२ गतेदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको जनाएको छ ।
वर्षाका कारण सडक तथा राजमार्गमा बाढी र पहिरोको जोखिम बढेकाले सावधानीस्वरूप कान्ति लोकपथमा सवारी आवागमन रोक्ने निर्णय गरिएको प्रशासनको सूचनामा उल्लेख छ।
प्रशासनले कात्तिक १३ र १४ गते बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कान्ति लोकपथमा सवारी साधन सञ्चालन तथा यात्रा गर्न रोक लगाएको हो । सूचनामार्फत यात्रु, सवारीसाधन सञ्चालक र यात्रासँग सम्बन्धित सबैलाई निर्णयबारे जानकारी गराइएको छ ।
बंगालको खाडीमा बनेको चक्रवात अर्नबको प्रभावका कारण वर्षा भइरहेको र निरन्तर वर्षाले सडक तथा राजमार्ग क्षेत्रमा बाढीपहिरोको जोखिम बढाएको प्रशासनले जनाएको छ।
यस्तो अवस्थामा रातिको समयमा सवारी सञ्चालन गर्दा सम्भावित दुर्घटना तथा मानवीय क्षतिको जोखिम हुने भएकाले आवागमनमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारीसाधन सञ्चालकलाई सूचनाको पालना गर्न र जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न आग्रह गरेको छ ।