बर्दियामा २१ हजार ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा

मंगलबार, ४ कार्तिक, २०८३
डिजिटल संस्करण

बर्दिया । बर्दियामा करिब २१ हजार ज्येष्ठ नागरिकले स्वास्थ्य बिमाबाट निःशुल्क स्वास्थ्य उपचार पाइरहेका छन्। स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालयको तथ्यांकअनुसार ७० वर्षभन्दा माथिका २० हजार ९०९ जना ज्येष्ठ नागरिकले स्वास्थ्य बिमाबाट निःशुल्क स्वास्थ्य उपचार पाइरहेका हुन्।

स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय बर्दियाका प्रमुख डिकेन्द्रबहादुर विष्टले हालसम्म २१ हजार ३९० जना ज्येष्ठ नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेको बताए। उनले भने, ‘स्वास्थ्य बिमामा आबद्ध हुने ज्येष्ठ नागरिकको सङ्ख्या २१ हजार ३९० जना थियो। जसमध्ये ४२१ जनाको मृत्यु भएकाले हाल २० हजार ९०९ ज्येष्ठ नागरिकले स्वास्थ्य बिमाबाट निःशुल्क स्वास्थ्य उपचार सेवा लिइरहनुभएको छ।’

ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा निःशुल्क हुने र एकजना ज्येष्ठ नागरिकले एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवा निःशुल्क प्राप्त गर्ने विष्टले जानकारी दिए। उनले भने, ‘ज्येष्ठ नागरिकहरूले निःशुल्क स्वास्थ्य उपचार सेवा लिन उमेर खुल्ने कागजातसहित दर्ता सहयोगीलाई जानकारी गराए दर्ता सहयोगीले स्वास्थ्य बिमा गराइदिनुहुन्छ।’

सुझावित समाचार