काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा काठमाडौं उपत्यकाका प्रमुख शक्तिपीठको दर्शन तथा पूजाआराधना गरेका छन्।
सोमबार राष्ट्रपति पौडेल काठमाडौंस्थित नक्साल भगवती मन्दिर पुगेर पूजाआराधना गरेका हुन्। उनले मन्दिरमा दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका थिए।
दसैँका अवसरमा राष्ट्रप्रमुखले काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहँदै आएको छ। सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले पनि शक्तिपीठको दर्शन गरेका हुन्।
बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजाआराधना गरिएको छ। यस अवसरमा काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती र संकटालगायत शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ।
त्यसैगरी, राजधानीबाहिरका प्रमुख शक्तिपीठमा पनि भक्तजनले महागौरी भगवतीको पूजाआराधना गरी महाअष्टमी पर्व मनाएका छन्। नवरात्रको आठौँ दिन देवी दुर्गाको आठौँ स्वरूप महागौरीको विशेष पूजा गर्ने धार्मिक परम्परा रहेको छ।