नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका– ६, माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित सातजना घाइते भएका छन्।
प्रहरीका अनुसार आइतबार दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग. प्र ०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँतर्फ रहेको नहरमा खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी कावासोती नगरपालिका– १, हात्तीखोरकी ४१ वर्षीया ईशा सुनारको उपचारका क्रममा भरतपुरस्थित सेन्ट्रल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।
दुर्घटनामा घाइते भएका कावासोती– १ हात्तीखोरका २३ वर्षीया निशा सुनार, ५० वर्षीया फूलमाया सुनार, १७ वर्षीया जमुना गाहामगर र २२ वर्षीय निर्मल गाहामगरको सेन्ट्रल अस्पतालमा उपचार भइरहेको छ। अन्य दुईजना सामान्य घाइतेको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अटोचालक कावासोती– १, हात्तीखोरका ४४ वर्षीय मानसिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।