देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा नौजनाको मृत्यु

आइतबार, २ कार्तिक, २०८३
डिजिटल संस्करण


काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी नौजनाको मृत्यु भएको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो।

सिन्धुलीको फिक्कल गाउँपालिका– ६, नागथानमा आज बिहान को.१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमध्ये खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ५ की २१ वर्षीया युपना राईको पहिचान खुलेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको उक्त सुमो दुर्घटनामा घाइते भएका चालक र अर्का एक यात्रुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। अन्य दुई घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

त्यस्तै, सुनसरीको इनरुवा नगरपालिका– ४ मा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार इनरुवा नगरपालिका– ९, बबियाकी ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका– ५ मा मोटरसाइकल र विद्युतीय (इभी) गाडी आपसमा ठोक्किँदा ३० वर्षीय सुमन श्रेष्ठले ज्यान गुमाएका छन्।

धनुषाको जनकपुर उपमहानगरपालिका– १७ मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा १८ वर्षीय सुजित यादवको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य तीनजनाको अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, मोरङको सुनबर्सी नगरपालिका– ५ मा दुई मोटरसाइकल ठोक्किँदा ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ। रौतहटको मौलापुर नगरपालिका– २ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा फतुवा विजयपुर नगरपालिका– २ की ७० वर्षीया सोमरियादेवी ठाकुरको ज्यान गएको छ।

रोल्पाको माडी गाउँपालिका– १ मा अटो दुर्घटना हुँदा ३२ वर्षीया खुमाकुमारी भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार देशका विभिन्न स्थानमा भएका यी दुर्घटनामा नौजनाले ज्यान गुमाएका छन्। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

सुझावित समाचार