काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका– ६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल नदीमा खस्दा चालकसहित चारजना घाइते भएका छन् भने तीनजना बेपत्ता रहेका प्रहरीले जनाएको छ।
आइतबार बिहान करिब साढे २ बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को.१ज २९७६ नम्बरको जिप सुनकोशी नदीमा खसेर दुर्घटना भएको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घटनास्थलमा तीन महिलाको शव फेला परेको बताइएको छ। दुर्घटनाको कारण तथा मृतक व्यक्तिहरूबारे थप विवरण आउन बाँकी छ।
घाइते हुनेहरुमा चालक ओखलढुंगाका अन्दाजी २९ वर्षीय आशिष बिष्ट, खोटाङ, दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल–१ का १३ वर्षीय अंकित विक रहेका छन्। घाइते चारै जनालाई उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रालि पठाइएकोमा थप उपचारका लागि एम्बुलेन्समार्फत सिन्धुली जिल्ला अस्पताल लगिएको छ।
दुर्घटनापछि तीनजना बेपत्ता रहेका चालकको भनाइउदृत गर्दै प्रहरीले जनाएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सातजना र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली घटनास्थलमा खटिएको छ। संयुक्त टोलीले बेपत्ताहरूको खोजी तथा उद्धार कार्य गरिरहेको छ।