मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

आइतबार, २ कार्तिक, २०८३
डिजिटल संस्करण

गुल्मी । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गुल्मीको मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन्।

गुल्मीको मालिका गाउँपालिका– ८ मा अवस्थित करिब पाँच सय वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको मर्भुङकोट मन्दिरको उद्घाटन गर्दै महानिरीक्षक कार्कीले यस्तो बताएका हुन्। उनले धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संरक्षणसँगै समाजमा आपसी सदभाव कायम राख्नुपर्नेमा जोड दिए।

धार्मिक पर्यटनको सम्भावना बोकेको मर्भुङकोट क्षेत्रको विकासका लागि सडक पहुँच, खानेपानी, शौचालय र विश्रामस्थलजस्ता आधारभूत पूर्वाधार निर्माण गर्न आवश्यक रहेको उनले बताए। यसका लागि स्थानीय, प्रदेश र संघीय सरकार तथा सम्बन्धित सरोकारवाला निकायबिच समन्वय र सहकार्य हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा महानिरीक्षक कार्कीले धार्मिक आस्था र व्यवहारबिच एकरूपता हुनुपर्ने धारणा व्यक्त गरे। देवीको पूजा गर्ने, तर घरपरिवार र समाजमा महिलामाथि अन्याय तथा शोषण गर्ने प्रवृत्ति विरोधाभासपूर्ण रहेको उनले बताए।

‘समाजबाट घरेलु हिंसा, बोक्सीको आरोप, छाउपडी, दाइजो र बालविवाहजस्ता कुप्रथाको अन्त्य गरी महिलाको सम्मान सुनिश्चित गर्न सके मात्र विजयादशमीको सन्देश सार्थक हुन्छ,’ उनले भने।

उनले विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक मात्र नभई समाजमा विद्यमान विकृति र कुरीतिविरुद्ध संकल्प गर्ने अवसरसमेत भएको उल्लेख गरे।

स्थानीयको जनसहभागिता र सहयोगमा मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिमालय केसीले जानकारी दिए। मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार मन्दिर पुनर्निर्माणमा कुल ६० लाख रुपैयाँ खर्च भएको छ।

मन्दिर निर्माणका लागि ३२४ जना दाताबाट सहयोग संकलन गरिएको थियो। दाताहरूले न्यूनतम १०० रुपैयाँदेखि अधिकतम तीन लाख ३१ हजार १११ रुपैयाँसम्म आर्थिक सहयोग गरेको उपाध्यक्ष अर्यालले बताए।

कार्यक्रममा मन्दिर निर्माणमा उल्लेखनीय योगदान पुर्याउने चन्दादाता तथा निर्माण समितिका पदाधिकारीलाई सम्मानसमेत गरिएको थियो।

मर्भुङकोट मन्दिर साविकका मर्भुङ, सिर्सेनी, अर्खाबाङ र ह्वाङ्दी गाउँको साझा ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ। मन्दिरको पुनर्निर्माणसँगै यस क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व थप उजागर हुने अपेक्षा गरिएको छ।


 

सुझावित समाचार