काठमाडौं । पाँचवटा सहकारीको बचत अपचलनमा फरार रहेका गितेन्द्रबाबु (जिबी) राईले आफैँ उपस्थित हुन चाहेको र बचतकर्ताको रकम फिर्ता गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। अज्ञात स्थलबाट प्रेस वक्तव्य जारी गर्दै उनले बचतकर्ताको रकम फिर्ता गर्न केही जग्गाको व्यवस्थापनसमेत गरिरहेको बताएका छन्।
मुद्दा दायर भएयता विदेशमा फरार रहेका राईले आफूलाई खोजी नगर्न सरकारलाई आग्रह गरेका छन्। बरु, बचत फिर्ता गर्ने वातावरण मिलाउन भनेका छन् ।
वक्तव्यमा उनले भनेका छन्, ‘म आज एउटा प्रश्न गर्न चाहन्छु, के मेरो पक्राउ नै यो सम्पूर्ण समस्याको समाधान हो ? यदि यही नै समाधान हो भने कसैले खोज्नुपर्ने आवश्यकता छैन। म आफैँ उपस्थित हुन्छु र तोकिएको प्रक्रिया स्वीकार गर्न तयार छु। तर, के यसो गर्दा लाखौँ बचतकर्ताहरूको अर्बौँ रकम फिर्ता आउँछ ? पक्कै पनि आउँदैन। सरकारलाई आग्रह छ, मेरो खोजलाई शक्ति–संयन्त्र प्रयोग गर्न पर्दैन। म बचतकर्ताहरूको रकम निश्चित समयभित्र विभिन्न वैकल्पिक उपायहरूको अवलम्बन गरी व्यवस्थापन गर्न प्रतिबद्ध छु ।’
वर्तमान सरकारको पहलको उनले स्वागत गर्दै भनेका छन्, ‘वास्तविक समाधान कसैलाई दोषी देखाएर मात्र सम्भव हुँदैन। तर, अहिले वर्तमान सरकारले बचतकर्ताहरूको बचत सुरक्षित गर्नका लागि जुन किसिमका पहल र कदमहरू अगाडि बढाएको छ, त्यो स्वागतयोग्य र सकारात्मक प्रयास हो।’ सरकारले सहकारी ठगीको अभियोग संशोधन गरी संगठित अपराध मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। जसले मिलापत्रको आधार तयार गरेको छ । यसले जिबीले स्वागत गरेका छन्।
वर्तमान सरकारको कामकारबाहीले आफूलाई सार्वजनिक हुन हिम्मत दिएको जिबीको भनाइ छ । ‘वर्तमान सरकारको कामकारबाहीले मलाई यसरी सार्वजनिक हुने हिम्मत दिलाएको छ। म जीवनभर लुकेर, भागेर हिँड्न चाहन्न। साथै, आर्थिक अपराधसँग जोडिएर जीवनभर जेल बस्न चाहन्न,’ उनले भनेका छन्, ‘राज्यको ज्यादतीले मेरो व्यवहार र कारोबार बिग्रिएको मात्र हो। राज्यले चाह्यो भने यो सब मिल्न सक्छ। बचतकर्ताले रकम फिर्ता पाउन सक्छन्। म सरकारसँग सहकार्य गर्न चाहन्छु। त्यसको सुरुवातस्वरूप मैले साथीभाइ, आफन्त तथा शुभेच्छुकहरूबाट केही जग्गा–जमिनको व्यवस्थापन गरेको छु। आवश्यकता परे त्यही सम्पत्ति प्रयोग गरेर वा कुनै अरू विकल्पबाट भए पनि, म तपाईं सम्पूर्णको बचत सुरक्षित गर्न र आफ्नो दायित्व पूरा गर्न अन्तिम क्षणसम्म प्रयासरत रहनेछु।’
सहकारीको रकम सीमाबाहिर गएर लगानी गर्दा समस्या भएको उनले स्वीकार गरेका छन्। ‘सहकारीको मापदण्डभित्र रहेर काम गर्नुपर्ने भए पनि, विभिन्न परिस्थितिका कारण धेरै सहकारी संस्थाहरूले आफ्नो सीमाभन्दा बाहिर गएर लगानी गरेका थिए,’ उनले भनेका छन्, ‘हामी पनि त्यस परिस्थितिबाट पूर्ण रूपमा अलग रहन सकेनौँ।’
‘ग्यालेक्सी टिभीको सबै जिम्मेवारी मेरो हो’
उनले ग्यालेक्सी टेलिभिजनको लगानीकारबारेमा पनि स्पष्ट पार्दै त्यसको सबै जिम्मेवारी आफ्नो भएको उल्लेख गरेका छन्। ‘म अर्को एउटा महत्त्वपूर्ण विषय पनि स्पष्ट गर्न चाहन्छु। ग्यालेक्सी टिभीमा सहकारीबाट गएको सम्पूर्ण रकमको जिम्मेवारी अध्यक्षको हैसियतले मेरो नै जिम्मेवारीभित्र पर्छ र यसरी आर्थिक स्रोत व्यवस्थापनमा अन्य कुनै सञ्चालकहरूको कुनै पनि संलग्नता रहेको छैन,’ उनले भनेका छन्, ‘साथै, कर्मचारी वा अन्य कुनै व्यक्तिबाट अभिलेख राख्ने क्रममा नाम वा कागजातको दुरुपयोग भए असावधानीवश नाम दुरुपयोग भएको हुन सक्छ। त्यस विषयमा अन्य व्यक्तिहरूलाई अनावश्यक रूपमा जोड्नु उचित हुँदैन भन्ने मेरो धारणा छ। गोर्खा मिडिया नेटवर्क मेरो हो। म सम्बन्धित सहकारीसँगको जिम्मेवारी पनि मेरो हो, अरू कसैको होइन। समाधानको जिम्मेवारी पनि मेरो हो। त्यसैगरी, रवि लामिछाने र छविलाल जोशीलाई यस विषयसँग जोड्नु उचित होइन भन्ने मेरो बुझाइ छ ।’
सहकारीका पैसा ग्यालेक्सी टिभीमा लगानी भएको र लामिछाने र जोशी सो टेलिभिजनको सञ्चालक भएकाले उनीहरूलाई पनि मुख्य अभियुक्त बनाएर सरकारले मुद्दा दायर गरेको थियो । जसमा राजनीतिक प्रतिशोधको आरोप लाग्दै आएको छ । यसमा पहिलोपटक राईले प्रस्टीकरण दिएका छन्।
उनको यस विषयमा छोटो अडियोसमेत सार्वजनिक भएको छ ।
राईविरुद्ध काठमाडौं, चितवन, पर्सा, कास्की र रुपन्देही जिल्ला अदालतमा सहकारी ठगीका मुद्दा विचाराधीन छन्।