व्यक्ति पार्टीभन्दा ठुलो होइन, चुकेँ भने सभापतिबाट हटाउनुहोस् : गगन थापा

शनिबार, १ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा कुनै पनि व्यक्ति ठुलो नहुने उल्लेख गर्दै आफूबाट गल्ती भए सभापतिको जिम्मेवारीबाट हटाउन पार्टीपंक्तिलाई आग्रह गरेका छन् ।

शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति थापाले आफ्नो व्यक्तिगत कमजोरीको भार पार्टीले बोक्न नहुने बताएका हुन् । उनले व्यक्तिगत, पारिवारिक तथा आर्थिक जीवनमा आफू जिम्मेवार र सचेत भएर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

नेपाली कांग्रेस लाखौँ नेता तथा कार्यकर्ताको त्याग, योगदान, रगत र पसिनाबाट निर्माण भएको सार्वजनिक सम्पत्ति भएको उल्लेख गर्दै थापाले व्यक्तिले गरेका गल्तीको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताए । नेतृत्वको कमजोरीका कारण पार्टीले क्षति व्यहोर्नुपर्ने अवस्था आउन नदिन आफूले विशेष ध्यान दिने उनको भनाइ थियो ।

सम्बोधनका क्रममा सभापति थापाले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै दसैँको फूलपातीका दिनसमेत हजारौँ युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदेसिन बाध्य हुनु गम्भीर विषय भएको बताए । युवालाई रातारात स्वदेश फर्काउन नसकिए पनि नेपालमै स्वाभिमानका साथ जीवनयापन गर्न सक्ने वातावरण निर्माणका लागि कांग्रेसले इमानदार प्रयास गर्नुपर्ने उनले धारणा राखे ।

थापाले पार्टीभित्र रहेका असन्तुष्टि सम्बोधन गर्ने र सबै पक्षलाई एकताबद्ध बनाएर अघि बढ्ने जिम्मेवारी आफूले लिने स्पष्ट पारे । उनले पार्टीका नेता तथा कार्यकर्तालाई निराश भएर कोठाभित्र सीमित नहुन आग्रह गर्दै जनताका समस्या बुझ्न र समाधानका लागि सक्रिय हुन निर्देशन दिए ।

पार्टीका तल्लो तहका कार्यकर्ता तथा आम नागरिकसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिँदै थापाले जनताको सुख–दुःखमा सहभागी हुन र पार्टीभित्र सकारात्मक ऊर्जा प्रवाह गर्न सबैलाई आह्वान गरे ।

उनले नेतृत्वको सफलता व्यक्तिगत पदमा नभई पार्टीको प्रतिष्ठा, जनताको विश्वास र देशको हितमा हुने कामबाट मापन हुनुपर्ने सन्देश दिएका छन् ।
 

सुझावित समाचार