दुर्गासप्तसती अर्थात् बोधकथा

शनिबार, १ कार्तिक, २०८३
प्रिन्ट संस्करण

बोध नै जीवन हो जान्नु नै जिउनु हो भन्ने सन्देशप्रवाह गर्न चाडपर्व प्रचलनमा ल्याइए । चाडपर्वको संकेत, महत्व र उपयोगिता बुझे सम्झेमा जीवन आनन्दित बन्ने र नबुझेमा यिनै चाडपर्व जीवनका बन्धन र पीडामा परिणत हुन्छन् । 

दसैँ हाम्रो महत्वपूर्ण चाड हो । मनाउन एक–दुई महिनाअघि देखि तयारी गरिन्छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मनाइन्छ । सुरुका नवौँ दिनसम्म दुर्गासप्तशतीको पाठ गरिन्छ । दुर्गासप्तशती सामान्य कहानी होइन, मार्कण्डेय पुराणको एक हिस्सा र जीवन तथा जगत्को महत्व बुझाउने बोधकथा हो ।

अधिकांश मानिस कृषक भएकाले वेदको पहुचबाहिर रहेको यथार्थता बुझेर वेद आएको हजार वर्षपछि कृषकहरूले वेदान्तको ज्ञान प्राप्त गर्न सकून् भनेर प्रतीकको सहारा लिएर कथा शैलीमा ऋषिहरूद्वारा पुराण रचिएका हुन् । पुराणको वेदान्तसम्मत व्याख्या गरेमा आज पनि उत्तिकै सान्दर्भिक र महत्वपूर्ण छन् ।

दुर्गासप्तशतीमा जनसेवी राजा सुरथ र एक सफल व्यापारी (वैश्य)को कथा छ । राजाको देश बाह्य आक्रमणमा पर्छ । राजा राजधानी छाडेर युद्ध लड्न जान्छन् । युद्ध हार्छन् र ठुलो भूभाग गुम्छ ।

दुर्गासप्तशतीमा जनसेवी राजा सुरथ र एक सफल व्यापारी (वैश्य)को कथा छ । राजाको देश बाह्य आक्रमणमा पर्छ । राजा राजधानी छाडेर युद्ध लड्न जान्छन् । युद्ध हार्छन् र ठुलो भूभाग गुम्छ । निराश हुँदै राजधानी फर्किँदा आफ्ना विश्वासपात्र मन्त्रीहरूसमेतले राजाको कमजोर अवस्था देखेर उनलाई घात गर्छन् ।

विवादिलो अवस्था देखेर राजधानीमा समेत बाह्य आक्रमण हुन्छ र देश निकालामा पर्छन् राजा । राजामा वैराग्य जाग्छ र बरु बाघभालुले आफूलाई खाउन भन्ने हेतुले जंगलतिर जान्छन् । जंगलमा आश्रम देख्छन्, जहाँ मार्कण्डेय ऋषिले पन्छीलाई ज्ञान दिएका हुन्छन् । त्यो आश्रममा राजा जान्छन् र अर्को अचम्मको दृश्य देख्छन् ।

जहाँ मेघा मुनिले हिंश्रक र अहिंश्रक दुवैखाले जनावर र पक्षीलाई ज्ञान दिएका र पशु र पंछीले समझदारीपूर्वक सुनेका थिए । त्यसैबखत, निराश अनुहारका वैश्य त्यही आउँछन् । राजाले उनलाई आफ्नो हाल बताउँदै उनको हालखबर सोध्छन् । मेरो हाल पनि तपाईँको जस्तै छ भन्दै वैश्यले आफू एक व्यापारी भएको, व्यापार गरेर धनआर्जन गर्दै परिवारलाई राम्रो सुखसुविधा उपलब्ध गराउँदै आएकोमा व्यापार घाटामा गएको अवस्थामा परिवारले अपमानजनक तरिकाले घर निकाला गरिदिएकाले मर्न जंगल प्रवेश गरेको खुलासा गर्छन् ।

त्यसरी जंगल आएका राजा र वैश्यमा देशका प्रजा र परिवार जनले दुःख पाउँछन् कि भन्ने मोह र आसक्ति छ । दुवैजनाले ऋषिसँग प्रश्न गर्छन् कि हामीले आफ्नैबाट चोट खायौँ भन्ने राम्ररी बुझेका छौँ, आफ्नो कोही हुँदो रहेनछ भन्नेमा प्रस्ट छौँ, हामीमा कुनै भ्रम बाँकी छैन र पनि जनता र घरका परिवारको भलो होस् दुःख नपाउन भन्ने चिन्ता र आसक्ति अझै हाम्रो मनमा किन छ ? भनेर । जवाफमा ऋषिले यी सबै महामायाको खेल हो, जसले सामुन्नेको सच्चाइ लुकाएर नभएको कुरा साँचो हो भन्ने देखाउँछ भन्दै महामाया को हुन् भन्ने बुझाउन दुर्गासप्तशतीको प्रसंग सुनाउँछन् ।

दुर्गासप्तशतीमा तीन चरित्रको वर्णन छ । तमोगुणकी महाकालीले प्रथम, रजोगुणकी महालक्ष्मीले मध्यम र सतगुणकी महासरस्वतीले तेस्रो चरित्रको प्रतिनिधित्व गर्छिन् । दुर्गासप्तशतीमा १३ अध्याय र ७०० श्लोक छन् । प्रथम चरित्रमा अध्याय १ माध्यममा अध्याय २, ३, ४ र तेस्रोमा अध्याय ५ देखि १३ सम्म पर्छन् ।

दुर्गासप्तसतीको प्रथम चरित्रको सुरुमा विष्णु भगवान निद्राको अवस्थामा छँदा उनको कानेगुजीबाट मधु र कैटव दुई असुर उत्पन्न हुन्छन् । मधु र कैटवले ब्रह्मालाई लखेट्छन् । ब्रह्मा सहयोगको आशाले विष्णु भएको ठाउँमा आउँदा सुतिरहेको देख्छन् र यो महामायाको खेल हो भन्ने बुझेर उनैको स्तुति गर्छन् ।

विष्णुको आँखाबाट महाकालीको रूपमा महामाया प्रकट हुन्छिन् । विष्णुको निद्रा पनि भंग भयो र उठेर ५००० वर्षसम्म मधुकैटवसँग युद्ध गर्छन् । युद्ध नटुंगिने देखेर महामायाले ती असुरको मन परिवर्तन गरिदिन्छिन् । मन परिवर्तन भएका मधुकैटवले विष्णु तिमी बहादुर रहेछौ, यति लामो समय हामीसँग लड्यौँ, हामी खुसी भयौँ वरदान माग भन्छन् । विष्णुले तिमीहरूलाई मार्ने वरदान पाउँ भन्छन् । असुरले जल, स्थलबाहेकको ठाउँमा कुनै शस्त्रविना मार्ने वरदान दिन्छन् । विष्णुले जाँघमा राखेर नङले घोचेर मार्छन् । यसरी महाकाली देवीसमेत भई मधु र कैटवको सँघार गरेर प्रथम चरित्र समाप्त हुन्छ ।

मध्यम चरित्रको सुरुमै देवता र असुरबिच लडाईँ भएको हुन्छ । देवताहरूको नेतृत्व इन्द्रले र असुरको नेतृत्व महिषासुरले गरेको छ । १०० वर्षसम्म चलेको लडाइँमा देवता हार्छन् र सबै अधिकार महिषासुरले लिन्छ । सूर्यको प्रकाशदेखि वरुणको पानी महिषासुरको अधीनमा हुन्छ र उसले प्रकृतिको नियम उलंघन गरिदिन्छ । प्रकृतिमा त्राहि मच्चिन्छ । यसबाट विष्णु र महादेव कुपित क्रोधित हुन्छन् र विष्णुको आँखाबाट तेजोमय नारीदेवीको रूपमा क्रोधित अवस्थामा प्रकट हुन्छिन् ।

विष्णु र महादेव क्रोधित भएको वेला विष्णुको आँखाबाट क्रोधित हुँदै देवी जन्मिनुले सच्चाइका लागि गरिएको क्रोध पनि अहिंसा हो भन्ने संकेत गर्छ । किनकि, क्रोध प्रकृतिको रक्षाका लागि उपयोग गरिएको छ । प्रकृतिमा सत रज तम गुण मात्र छन् र सत्यलाई समर्पित गरिएको गुण मात्र सद्गुण हो । राम्रो मानिने गुणले असत्यको पोषण गरियो भने अवगुण बन्छ ।

महिषासुरले घरीघरी रूप बदल्नुले असुरता कुनै पनि रूपमा आउन सक्छ, त्यसको केन्द्र हेर्नुपर्छ भन्ने सन्देश हो । अहिले अध्यात्ममा रूप बदलेर आएका छन् । देवीले मदिरा पान गर्नुले मदिरा पिए पनि देवी मदमा छैनन् र मदिरा नपिउँदैमा सुर भइँदैन भन्ने संकेत दिएको छ ।

देवीलाई सुरुमा मेरी पटरानी बनेर राजगर भन्ने दैत्यराजले पछि घिसार्दै ल्याऊ र मारसमेत भनेकाले धेरैजसोको प्रेम देखावटी मात्र हो, वास्तविकतामा भोगको लालसा हुन्छ भन्ने संकेत गर्छ । देवीको प्रहारले शिर छिनिँदा पनि उसको रगत भुइँमा परेपछि जस्ताको तस्तै व्युतिने रक्तविज अहंकारको प्रतीक हो । मूर्खलाई एउटा ज्ञान दिए पाँच गुणा अज्ञान बढाउँछ भन्ने सन्देश हो । रक्तविजको रगत महाकालीले पिएर मारेको भनेको अहंकारलाई सिधै निलेको हो ।

काली प्रकृति हुन् । अहंकारले म प्रकृतिभन्दा भिन्न चेतन हुँ भन्छ । कालीले तेरो छुट्टै अस्तित्व छैन त प्रकृतिकै उत्पादन होस् भनेर आफूमा समाहित गर्छिन्, उसमाथि प्रहार गर्दिनन् । किनकि, प्रहार गर्नु उसको अस्तित्व स्विकार्नुहुन्छ र एक प्रहार गरे बदलामा पाँच गुणा प्रहार गर्छ, नासिन्न । यसको अर्थ अहंकारलाई साक्षी भावले हेर्दा उसको शक्ति क्षीण भएर शुष्क र शुद्ध हुन्छ भन्ने हो । शुद्ध अहं नै आत्मा हो ।

सप्तशतीको तेस्रो चरित्रमा शुम्भ–निशुम्भको वध भएपछि वायु शुद्ध आकाश सफा नदीनाला र हिमशृंखला ठिक भए भनेर अहंकारी प्रवृत्तिले प्रकृतिको अनुचित दोहन गरेर जलवायु परिवर्तनको असर निम्त्याएको र प्रकृतिको उपयोग गरे प्रकृति कुपित हुँदिनन् भन्ने ठूलो सन्देश दिएको छ । यो नै दुर्गासप्तशतीको कथा मार्फत ऋषिमुनिहरूले मानव कल्याणका लागि दिएको कालजयी ज्ञान हो ।

सुझावित समाचार