चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्न रास्वपाको अपिल

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा उपहार, नगद, जिन्सी तथा अन्य सुविधा लेनदेन नगर्न आग्रह गरेको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडपर्वका अवसरमा शुभकामना आदान–प्रदान गर्दा कुनै पनि प्रकारका उपहार वा सुविधा लिने-दिने कार्य नगर्न र नगराउन अपिल गरेका हुन्।

रास्वपाले स्थापनाकालदेखि नै यस्ता कार्यलाई निरुत्साहित गर्दै आएको उल्लेख गर्दै उक्त मान्यतामा पार्टी अडिग रहेको जनाएको छ। साथै, सबैलाई यसलाई व्यवहारमा उतार्न आग्रह गरेको छ।

विज्ञप्तिमा चाडपर्वमा परिवार तथा आफन्तबाट आशीर्वादको अपेक्षा गरेझैँ राजनीतिमा पनि नागरिक र अन्य सबैको सदभाव, आशीर्वाद तथा विश्वास नै सबैभन्दा ठुलो उपहार भएको उल्लेख गरिएको छ।

पार्टीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको शुभकामना व्यक्त गरेको छ।

मर्यादित, सुसंस्कृत र भरोसायोग्य राजनीतिक संस्कार निर्माणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको रास्वपाले जनाएको छ।

सुझावित समाचार