दसैँ अवधिको मौसम : ठुलो वर्षाको छैन सम्भावना

खण्डित वर्षाको आकलन

शनिबार, १ कार्तिक, २०८३
प्रिन्ट संस्करण

यस वर्ष दसैँको अवधिमा देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने देखिएको छ । तर, हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा भने बादल लाग्ने, हल्का वर्षा हुने र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार शनिबार (फूलपाती)देखि ४ कात्तिक (दसैँको टीकाको दिन)सम्म मौसम सामान्य छ । तर, केही स्थानमा भने खण्डित रूपमा पानी पर्ने सम्भावना रहेकोे उनले बताए । ‘बिहान–बेलुका चिसो हुन्छ । दिउँसो घाम लाग्छ । कहीँकतै बादल पनि लाग्छ,’ उनले भने, ‘यो अवधिमा ठुलो पानी पर्ने सम्भावना छैन । तर, खण्डित रूपमा पानी पर्न सक्छ ।’

नेपालबाट मनसुन बहिर्गमन भइसकेको अवस्थामा पश्चिमी वायुको आंशिक प्रभाव छ । त्यही भएर हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने र केही समय पानी पर्न सक्ने उनले बताए । 

शनिबार फूलपातीका दिन तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ । हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ । 

दसैँको टीकाका दिन पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ । देशका बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ । यी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद् सञ्जीव अधिकारी भन्छन्– बिहान–बेलुका चिसो हुन्छ । दिउँसो घाम लाग्छ । कहीँकतै बादल पनि लाग्छ । यो अवधिमा ठुलो पानी पर्ने सम्भावना छैन । तर, खण्डित रूपमा पानी पर्न सक्छ ।

सुझावित समाचार