कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाकामा तालिमप्राप्त कुकुरबाट चेकजाँच सुरु गरिएको छ। भारतसँग जोडिएको बनबासा–गड्डाचौकी नाकामा सशस्त्र प्रहरीले तालिमप्राप्त कुकुरबाट चेकजाँच गर्न लागेको हो।
सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरी– ३५ नम्बर गणका गणपति एसपी प्रेमप्रकाश सिग्देलले दसैँ, तिहारलक्षित गरेर चेकजाँच सुरु गरिएको बताए। एसपी सिग्देलका अनुसार अल्फा नाम गरेको लेब्राडो (पोथी) र डेल्टा नाम गरेको जर्मन सेफर्ड (भाले) कुकुरबाट नेपाल भित्रिने यात्रुदेखिका सवारीसाधनको चेकजाँच गर्न लागिएको हो। सशस्त्र प्रहरीका असइ जगदीश भट्टको कमान्डमा तालिमप्राप्त कुकुरसहितको टोली खटाइएको छ।
भीमदत्त नगरपालिका– ११ का वडाध्यक्ष प्रकाश थापाले दसैँतिहारका वेला आवश्यक सुरक्षाका लागि सशस्त्र प्रहरीबाट तालिमप्राप्त कुकुर परिचालन राम्रो भएको बताए। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले तालिमप्राप्त कुकुरबाट थप सुरक्षा व्यवस्था बलियो हुने बताए। दसैँ, तिहारदेखि छठसम्मै तालिमप्राप्त कुकुरबाट सीमा क्षेत्रमा निगरानीदेखि चेकजाँच बढाइने सशस्त्रले जनाएको छ।