चितवन, झापा र रुपन्देहीका ५७ परिवारले पाए लालपुर्जा

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। सम्बन्धित जिल्लाका भूमि समस्या समाधान समितिमार्फत उनीहरूलाई लालपुर्जा वितरण गरिएको हो।

चितवनको इच्छाकामना गाउँपालिका– ७ का ३२ भूमिहीन सुकुमबासी र एक भूमिहीन दलित परिवारले लालपुर्जा प्राप्त गरेका छन्। त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका– ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ।

यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका– ८ र ९ का १४ भूमिहीन दलित तथा दुई भूमिहीन सुकुमबासी परिवारले लालपुर्जा पाएका छन्।

लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका ५७ परिवार लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्। जग्गाधनी पुर्जा प्राप्त भएपछि उनीहरूलाई आफ्नो बसोबास रहेको जग्गामाथिको स्वामित्व सुनिश्चित गर्न सहयोग पुगेको छ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिएको जनाएको छ।

भूमिमन्त्री प्रतिभा रावलले कानुनी अड्चन नरहेकाले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान प्रक्रिया अब तीव्र गतिमा अघि बढ्ने बताएकी छिन्। यसका लागि सम्बन्धित स्थानीय तहको सहयोगसमेत आवश्यक रहेको उनले उल्लेख गरिन्।

‘कानुनी अड्चन नरहेकाले अब भूमिहीन, सुकुमबासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधान प्रक्रिया तीव्र गतिमा अघि बढ्छ। यसका लागि सम्बन्धित स्थानीय तहको सहयोगसमेत अपेक्षा गरेकी छु,’ मन्त्री रावलले भनिन्।

सुझावित समाचार