काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरीलाई सम्भावित विपत् सामना गर्न सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित ७१औँ प्रहरी दिवस समारोहका अवसरमा उनले प्रहरीको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग र पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्। प्रधानमन्त्रीको सन्देश प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वाचन गरेका थिए।
प्रधानमन्त्री शाहले प्रहरीको कार्यसम्पादन प्रभावकारी बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम तथा आवश्यक पूर्वाधार विकासमा जोड दिएका छन्। प्रहरी कर्मचारी, उनीहरूका परिवार र सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना पनि सरकारले अघि सारेको उनले बताए।
वित्तीय तथा साइबर अपराध बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले यस्ता अपराध नियन्त्रणका लागि सम्बन्धित निकायबिच समन्वय प्रभावकारी बनाइने उल्लेख गरे। नेपाल प्रहरीको सहकार्यमा नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवाप्रदायक र डिजिटल वालेट सञ्चालकलाई एकीकृत गरी नागरिकका गुनासा छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था गर्न लागिएको उनले जानकारी दिए।
त्यसैगरी, अपराध नियन्त्रण तथा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन कृत्रिम बुद्धिमत्ता (एआई), एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट र इन्टिग्रेटेड एन्टी-स्क्याम सेन्टर स्थापना गर्ने तयारी भइरहेको प्रधानमन्त्री शाहले बताए।
सन्देशमार्फत उनले भोटेकोशी–त्रिशूलीलगायतका विपत् तथा कर्तव्यपालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरे। संकटका वेला राष्ट्रसेवकको वास्तविक क्षमता परीक्षण हुने उल्लेख गर्दै उनले विपतकाे समयमा धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनले ठुलो क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
प्रधानमन्त्री शाहले नागरिकको सुरक्षा, विपत् व्यवस्थापन र अपराध नियन्त्रणमा नेपाल प्रहरीको भूमिका अझ प्रभावकारी बनाउन सरकार आवश्यक सहयोग र सहकार्यका लागि प्रतिबद्ध रहेको सन्देश दिएका छन्।