काठमाडौं । युरोपेली संघको सहयोगमा सञ्चालित ग्रिनसिफ्ट नेपाल परियोजनाअन्तर्गत दिगो प्याकेजिङ र हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका पाँच उद्यमी पुरस्कृत भएका छन्। उनीहरूले नवीन तथा वातावरणमैत्री व्यावसायिक समाधान विकास र विस्तार गर्न कुल ३१ लाख २२ हजार रुपैयाँबराबरको अनुदान पाएका छन्।
क्रिएसन नेपालले सञ्चालन गरेको दुवै कार्यक्रमका विजेतालाई बिहीबार काठमाडौंको हात्तीसारमा आयोजित समारोहमा पुरस्कार प्रदान गरिएको हो।
हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत बागमती प्रदेशको रि अप स्टुडियो, लुम्बिनी प्रदेशको इकोदोस्ती प्रालि र मधेश प्रदेशको कुशवाहा बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म विजेता बनेका छन्। उनीहरूले जनही पाँच लाख ७४ हजार रुपैयाँबराबरको अनुदान पाएका छन्।
त्यस्तै, दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत एबी बायोडिग्रेडेबल प्रडक्ट प्रालि र छहारी फार्म प्रालि विजेता बनेका छन्। दुवै कम्पनीले जनही सात लाख रुपैयाँबराबरको अनुदान प्राप्त गरेका छन्।
कार्यक्रमका अन्तिम चरणमा पुगेका २१ सहभागीमध्ये निर्णायकमण्डलले व्यावसायिक सम्भावना, नवीनता र दिगो विकासमा योगदान पुर्याउन सक्ने क्षमताका आधारमा विजेता छनोट गरेको आयोजकले जनाएको छ। अन्तिम चरणमा हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमबाट १३ र दिगो प्याकेजिङ कार्यक्रमबाट आठजना सहभागी थिए।
पुरस्कार वितरणअघि दुईदिने बुट क्याम्पसमेत सञ्चालन गरिएको थियो। बुट क्याम्पमा व्यावसायिक अवधारणा परिष्कृत गर्ने, प्रभावकारी प्रस्तुति तयार पार्ने तथा लगानी र बजारका अवसरसँग जोडिने विषयमा प्रशिक्षण दिइएको थियो।
क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले चक्रीय अर्थतन्त्रलाई व्यवहारमा उतार्न उद्यमीले देखाएको प्रतिबद्धता नेपालको दिगो आर्थिक विकासका लागि महत्त्वपूर्ण रहेको बताइन्। उनले वातावरणमैत्री व्यावसायिक अभ्यासलाई निरन्तरता दिन विजेताहरूलाई आग्रह गरिन्।
क्रिएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले व्यवसाय सञ्चालनमा लागतलाई मात्र प्राथमिकता नदिई वातावरणमैत्री विकल्प रोज्नु सकारात्मक भएको बताइन्। प्याकेजिङजन्य फोहोरको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै दिगो प्याकेजिङ कार्यक्रम अघि बढाइएको उनको भनाइ थियो।