दमक । झापाको दमक नगरपालिका– ३ स्थित बेलडाँगी शिविरमा घरायसी विवादका क्रममा भएको कुटपिटबाट तीन महिनाका शिशुको मृत्यु भएको छ।
प्राप्त विवरणअनुसार असोज २३ गते दिउँसो करिब १:२० बजे बेलडाँगी शिविरको सेक्टर D2 मा ६८ वर्षीय मनबहादुर तामाङ, उनकी श्रीमती ६२ वर्षीया आशा तामाङ, छोरा ३४ वर्षीय फुर्बासिंह तामाङ र बुहारी ३८ वर्षीया विमला भारतीबिच घरायसी विषयलाई लिएर विवाद भएको थियो।
विवादका क्रममा मनबहादुर तामाङले बुहारी विमला भारतीमाथि कुटपिट गर्दा उनको काखमा रहेका तीन महिनाका छोरा सामेल तामाङ घाइते भएका थिए। भित्री चोट लागेका शिशुलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो २:०५ बजे शिशुको मृत्यु भएको जनाइएको छ।
घटनामा संलग्न रहेको आरोपमा मनबहादुर तामाङ, आशा तामाङ, फुर्बासिंह तामाङ र विमला भारती गरी चारैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।