धनकुटा/ जिल्लामा एक वर्षदेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई स्वर्णविन्दु प्राशन सुरु गरिएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले पुष्य नक्षत्रको अवसर पारेर पहिलोपटक स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गरेको हो।
अब हरेक महिनाको पुष्य नक्षत्रका दिन बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने तयारी गरिएको केन्द्रले जनाएको छ। कार्यक्रमको कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले उद्घाटन गरे। आयुर्वेदिक मान्यताअनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको शारीरिक तथा मानसिक विकास, स्मरण शक्ति र रोग प्रतिरोधात्मक क्षमता विकासमा सहयोग पुग्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाकी प्रमुख डा. विद्या श्रेष्ठले बताइन्।
उनका अनुसार सुनको भस्म, मह र घिउको मिश्रणबाट स्वर्णविन्दु तयार गरिन्छ। करिब पाँच हजार वर्ष पुरानो काश्यप संहितामा समेत स्वर्णविन्दु प्राशनको विधि उल्लेख रहेको आयुर्वेद कित्सकहरूको भनाइ छ।
धनकुटामा पहिलोपटक सञ्चालन गरिएको कार्यक्रममा हालसम्म १५० जना बालबालिका स्वर्णविन्दु प्राशनका लागि दर्ता भइसकेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले जनाएको छ।