धनगढीका दुई सामुदायिक विद्यालयलाई फर्निचर हस्तान्तरण

सोमबार, १९ असोज, २०८३
डिजिटल संस्करण

धनगढी/ धनगढी उपमहानगरपालिकाले नगरका दुईवटा सामुदायिक विद्यालयमा नयाँ भवन निर्माण गर्नुका साथै विद्यार्थी बस्नका लागि डेस्कबेन्च हस्तान्तरण गरेको छ। विद्यार्थीको बसाइ व्यवस्थापनमा सहजता ल्याएर पठनपाठनका गतिविधि थप प्रभावकारी बनाउने उद्देश्यले भवन निर्माणसँगै डेस्कबेन्च दिइएको उपमहानगरले जनाएको छ।

धनगढी उपमहानगरको वडा नम्बर १६ मा रहेको बेहडाबाबा माविलाई ५० थान र वडा नम्बर १८ मा रहेको चन्द्रोदय माविलाई ३८ थान डेस्कबेन्च सोमबार हस्तान्तरण गरिएको हो। नगर प्रमुख गोपाल हमालको उपस्थितिमा उपप्रमुख कन्दकलाकुमारी रानाले सम्बन्धित विद्यालयलाई फर्निचरका सामान हस्तान्तरण गरेकी हुन्।

यी दुवै विद्यालय उपमहानगरले छनोट गरेका नमुना विद्यालय हुन्। चन्द्रोदयमा दुई लाख ४८ हजार र बेहडाबाबामा तीन लाख ७७ हजार मूल्यका फर्निचर दिइएको उपमहानगरको शिक्षा शाखाका विज्ञ शिक्षक गणेशराज भट्टले जानकारी दिए। फर्निचरण हस्तान्तरण कार्यक्रममा उनले विद्यार्थीको बसाइ व्यवस्थापन र शैक्षिक सुधारका गतिविधिमा सहयोग पुगोस् भनेर फर्निचर सहयोग गरिएको बताए।

सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि उपमहानगरले चन्द्रोदय र बेहडाबाबा माविमा आठ-आठ कोठे भवन निर्माण गरेको छ। चन्द्रोदय माविमा एक करोड ४० लाख १२ हजार रुपैयाँ र बेहडाबाबा माविमा एक करोड ३२ लाख ७७ हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको उपमहानगरले जनाएको छ। दुवै भवन भूकम्पप्रतिरोधी र अपांगमैत्री रहेको भट्टले बताए।

उपप्रमुख रानाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उपमहानगरले शिक्षकलाई तालिम, भौतिक पूर्वाधार निर्माण र शैक्षिक सामग्री सहयोग गर्दै आएको बताइन् । सामुदायिक विद्यालय सुधार अभियानअन्तर्गत नै केही विद्यालयलाई नमुना विद्यालयको रूपमा अगाडि बढाइएको उनले बताइन्। पूर्वाधार निर्माण गरेर सामुदायिक विद्यालयहरूलाई आधुनिक पूर्वाधारयुक्त बनाउन खोजेको उपप्रमुख रानाको भनाइ थियो।


बेहडाबाबा माविका प्रधानाध्यापक नरेशराज रेग्मीले पूर्वाधार निर्माणले शैक्षिक व्यवस्थापनमा विद्यालय व्यवस्थापनमा सहयोग पुग्ने बताए। केही वर्षअघिसम्म कक्षा ८ को नगरस्तरीय परीक्षामा निल हुने यो विद्यालय अहिले नगरभित्र उत्कृष्ट नतिजा ल्याउने विद्यालयमध्येमा पर्न थालेको उनले बताए। उपमहानगरले शैक्षिक सुधार कार्यक्रम लागू गरेपछि पूर्वाधार र नतिजामा सुधार आएको प्रधानाध्यापक रेग्मीले बताए।

सुझावित समाचार