उच्च जोखिम बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सारिँदै

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

विपतकाे उच्च जोखिममा रहेका कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ३, पटराखल्लाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। जगबुढा नदीको बाढी र डुबानको जोखिम बढेपछि स्थानीयलाई नजिकैको सुरक्षित र अग्लो स्थानमा रहेको जमुना आधारभूत विद्यालयमा सार्न थालिएको हो।

शुक्रबार बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो। सशस्त्र प्रहरी बलले पटराखल्लाका १४ घरधुरीका खाद्यान्नलगायत सरसामान विद्यालयमा सारिसकेको छ। डुबानको जोखिम रहेका अशक्त नागरिकलाई पनि डुबानअघि नै सरसामानसहित सुरक्षित स्थानमा सारिएको छ।

हरेक वर्ष जगबुढा नदीमा आउने बाढीका कारण पटराखल्ला बस्ती डुबान र कटानको चपेटामा पर्दै आएको छ। नदीको सतह बढ्दै गएपछि सीमावर्ती पटराखल्ला बस्ती बर्सेनि डुबानमा पर्ने गरेको स्थानीयले बताएका छन्।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले विपतकाे पूर्वतयारीस्वरूप जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए। उनका अनुसार मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म हावाहुरीसहित भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्लाका अति जोखिम, जोखिम र सामान्य जोखिम क्षेत्रहरूमा आवश्यक सतर्कता अपनाइएको छ।

विगतमा भारी वर्षाका कारण जिल्लाका महाकाली, जगबुढा, चौधर, सुनबरा, दोदा, भुजेला, झर्नाखोलालगायत नदी तथा खोलानालामा डुबान, कटान र पटान हुँदै आएको छ।

सुझावित समाचार