पृथ्वी राजमार्गका तीन ठाउँमा पहिरो, सडक अवरुद्ध

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

निरन्तरको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङका विभिन्न ठाउँमा पहिरो खस्दा तीन स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार बेनीघाट रोराङ गाउँपालिका– ७, कृष्णभिरमा पहिरो खस्दा राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ। त्यस्तै बेनीघाट रोराङ गाउँपालिका– १० को तिघ्राङघाट र गजुरी गाउँपालिकाको परेवाभिरमा पनि पहिरोका कारण सडक दुवैतर्फ अवरुद्ध भएको छ।

अवरुद्ध सडक खुलाउन जेसिबी परिचालन गरिएको प्रहरीले जनाएको छ। राजमार्गका अन्य स्थानमा पनि पहिरो खस्ने क्रम जारी रहेको दाहालले बताए। यसअघि थाक्रे गाउँपालिका– २, कमेरेभिरमा खसेको पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको थियो।

निरन्तर वर्षाका कारण राजमार्गमा आवागमन जोखिमपूर्ण रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ। यात्रा गर्नैपर्ने अवस्था भएमा सडकको अवस्थाबारे सूचना लिएर सुरक्षा निकायको सल्लाहमा मात्रै यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

सुझावित समाचार