प्रमुख प्रतिपक्षी दल कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका अधिवेशन र क्षेत्रीय अधिवेशन मौसमका कारण प्रभावित भएका छन् । पालिका अधिवेशन लम्बिएको छ भने क्षेत्रीय अधिवेशनको समय पनि थपिएको छ ।
गत ७ असोजमा सबै पालिकामा एकसाथ गर्ने भनिएको अधिवेशन शुक्रबारसम्म लम्ब्याइएको छ । आगामी १० असोजमा एकैदिन गर्ने भनिएको क्षेत्रीय अधिवेशन १३ असोजसम्म गरिसक्न समय दिइएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मौसमका कारण अवस्था हेरेर पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ ।
विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण अधिवेशन प्रक्रियामा कठिनाइ भएकाले थप समय दिनुपरेको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए । १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेको छ भने गाउँ तथा नगर अधिवेशन जारी छन् । हालसम्म ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ । कांग्रेसको १५औँ महाधिवेशन १६–१९ असोजमा काठमाडौंमा हुँदै छ ।
देउवा समूहले ७६ जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि
निवर्तमान सभापति शेरबहादुर देउवा समूह समानान्तर महाविधेशनको तयारीमा छ । १५ असोजमा वडा अधिवेशन हुँदै २१–२३ मंसिरमा १५औँ महाधिवेशनको कार्यतालिकासहित देउवा पक्षले देशव्यापी रूपमा केन्द्रीय प्रतिनिधि खटाएको छ । रुकुम पश्चिमबाहेक ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएका छन् । देउवा समूहले समानान्तर महाधिवेशन गर्न पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएर काम गरिरहेको छ । देउवा पक्षले प्रदेश हुँदै जिल्ला संयोजक तोक्न थालेको छ । प्रदेश संयोजकमा कोशी गोमा भट्टराई, मधेशमा पद्मनारायण चौधरी, बागमतीमा शिव हुमागाई, गण्डकीमा गुरु बराल, लुम्बिनीमा गेहेन्द्र गिरी, कर्णाली रंगमती शाही र सुदुरुपश्चिममा वीरबहादुर बलायत प्रदेश संयोजक छन् । प्रदेश संयोजकको संयोजनमा महाधिवेशन आयोजक समितिका संयोजक शशांक कोइरालाले जिल्ला संयोजक तोकेका हुन् । देउवा समूहले ५५ जिल्लामा संयोजक तोकेको छ ।
लोगोमा बिपीदेखि देउवासम्मको तस्बिर
कांग्रेसको १५औँ महाधिवेशनको नारा र लोगो सार्वजनिक भएको छ । ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा दिइएको छ । लोगोमा संस्थापक बिपी कोइरालादेखि निवर्तमान सभापति शेरबहादुर देउवासम्म्को तस्बिर राखिएको छ । बिपी, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ । पार्टीको झन्डा, चुनाव चिह्न र राष्ट्रिय झन्डाको चन्द्र र सूर्य पनि लोगोमा समावेश गरिएको छ ।