२०औँ एसियाडअन्तर्गत पुरुष क्रिकेटतर्फ शुक्रबार नेपालले अफगानिस्तानको सामना गर्दै छ । नेपालले टी–२० आईमा पाँचौँपटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले पहिलोपटक अफगानिस्तानविरुद्ध सन् २०१४ को आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो । नेपालले आफ्नो पहिलो टी–२० आईमा अफगानिस्तानलाई नौ रनले हराएको थियो । त्यसवेला नेपाली टोलीका कप्तान पारस खड्का थिए ।
त्यसयता नेपालले तीन भेटमा अफगानिस्तानलाई हराउन सकेको छैन । यी तीनवटै खेल टी–२० थियो । सन् २०१३ मा अबुधाबीमा भएको खेलमा अफगानिस्तानले नेपालमाथि सात विकेटको जित निकालेको थियो । सोही सिरिजको दोस्रो खेलमा अफगानिस्तान नौ विकेटले विजयी भएको थियो । अफगानिस्तान र नेपालबिच पहिलो टी–२० खेल सन् २०१२ मा भएको थियो । जसमा अफगानिस्तान ३४ रनले विजयी रह्यो ।
उत्कृष्ट फर्ममा अफगानिस्तान
टी–२० आईको पछिल्लो पाँच खेलमा अफगानिस्तान अपराजित रहेको छ । यसको तुलनामा नेपालले पाँचमध्ये दुई खेलमा मात्र जित हात पारेको छ । नेपालले तीन खेल गुमाएको छ । नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरी र अफगानीको कप्तानी दारिस रोसोलीले गर्नेछन् । अफगानिस्तानको ब्याटिङमा कप्तान रोसोली फर्ममा छन् । उनले पछिल्ला १० खेलमा २०१ रन बनाएका छन् । नेपालका लागि भने ओपनर कुशल भुर्तेलले १० खेलमा ५१८ रन जोडेका छन् । कप्तान ऐरीले पनि १० टी–२० आईमा २६४ रन बनाएका छन् । बलिङमा अफगानिस्तानका अब्दुल्लाहले चार खेलमा पाँच विकेट हात पारेका छन् । नेपालका सन्दीप लामिछानेले १० टी–२० आईमा १३ विकेट लिएका छन् ।
अफगानिस्तानसँग जापान ४८ रनले पराजित
अफगानिस्तानले आफ्नो पहिलो खेलमा आयोजक जापानलाई ४८ रनले हराएको छ । पहिलो ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । जापानले प्रत्युत्तरमा १९.३ ओभरमा सबै विकेट गुमाएर ८१ रन बनाएको थियो । अफगानिस्तानको ब्याटिङमा मोहमद अक्रामले २९ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३४ रन बनाएका थिए । जापानका लागि रोए थोमासले २४ बलमा २३ तथा बेन्जामिनले आठ बलमा १७ रनको योगदान दिए । जापानको ब्याटिङमा आठ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।