१० भदौमा आएको भोटेकोशी बाढीका कारण नेपालको आर्थिक वृद्धिदर तथा मूल्यवृद्धिमा असर गर्ने एसियाली विकास बैंक (एडिबी)को पछिल्लो प्रतिवेदनले औँल्याएको छ । एडिबीले बुधबार सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक’ले बाढीका कारण आर्थिक वृद्धिदर घट्न सक्ने तथा मूल्यवृद्धि बढ्न सक्ने देखाएको हो ।
वर्ष २०२७ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने अनुमान गरिएको छ । जबकि गत जुलाईमा यस्तो वृद्धिद ४.५ प्रतिशत हुने अनुमान गरिएको थियो । त्यस्तै, २०२७ मा मूल्यवृद्धि ५.३ प्रतिशत पुग्ने अनुमान गरिएको छ । जुलाईमा मूल्यवृद्धि ५ प्रतिशत रहने अनुमान गरिएको थियो । एडिबीको प्रतिवेदनले आर्थिक वृद्धिदर ०.४ प्रतिशत विन्दुले घट्ने र मूल्यवृद्धि ०.३ प्रतिशत विन्दुले बढ्ने देखाएको हो ।
विनाशकारी बाढी र मध्यपूर्वको द्वन्द्वले लागतमा थप चाप सिर्जना गरेकाले मूल्यवृद्धि बढ्ने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ । बाढीका कारण खासगरी खाद्य तथा अत्यावश्यक वस्तुको आपूर्तिमा अवरोध सिर्जना भएको तथा ढुवानी लागत बढेकाले मूल्वृद्धिमा चाप परेको एडिबीले उल्लेख गरेको छ । मध्यपूर्वको द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य बढेका कारणले समेत मूल्यवृद्धिमा चाप पर्ने प्रतिवेदनमा उल्लेख छ । नेपालका लागि एडिबीका कन्ट्री डाइरेक्टर आर्नो कौचोइसले बाढीका कारण नेपालको मसग्र अर्थतन्त्रमा गम्भीर तथा दूरगामी असर परेको औँल्याए । ‘बाढीका कारण भएको मानवीय क्षति सबैभन्दा दुःखद हो, तर यस विपत्ले जनजीवन, महत्वपूर्ण पूर्वाधार र नेपालको समग्र अर्थतन्त्रमा पनि गम्भीर तथा दूरगामी प्रभाव पार्नेछ,’ उनले भने, ‘यातायात पूर्वाधार, जलविद्युत् आयोजनालगायतमा भएको क्षतिले व्यापार, पर्यटन, कृषि र स्थानीय आर्थिक गतिविधिमा अवरोध पुर्याएको छ ।’
बाढीपछिको पुनरुत्थान छिटो गर्न नसके वृद्धिदर अझ कमजोर हुने एडिबीको विश्लेषण छ । त्यस्तै, पुननिर्माण तथा पुनर्स्थापनाका लागि ठुलो स्रोत आवश्यक हुने भएकाले त्यसको चाप सार्वजनिक वित्तमा पर्ने देखिएको छ ।