कांग्रेस संखुवासभाको १० वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संखुवासभाका १० वटै स्थानीय तहमा पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ। जिल्लाका पाँच गाउँपालिका र पाँच नगरपालिकामा सर्वसम्मत नेतृत्वसहित कार्यसमिति चयन गरिएको छ।

असोज ७ गते बुधबार संखुवासभाका १० वटै स्थानीय तहमा नेपाली कांग्रेसको पालिकास्तरीय अधिवेशन सम्पन्न भएको हो। खाँदबारी नगरपालिका र पाँचखपन नगरपालिकामा नेतृत्व चयनका लागि राति अबेरसम्म सहमति जुटाउन समय लागेको बताइएको छ।

संखुवासभाका १० वटै स्थानीय तहमा सौहार्दपूर्ण वातावरणमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको नेपाली कांग्रेस संखुवासभाका कार्यवाहक सभापति अनन्तकुमार गौलीले जानकारी दिए। केन्द्रीय कार्यालयले तोकेको निर्वाचन तालिकाअनुसार जिल्लाका सबै स्थानीय तहमा पालिकास्तरीय अधिवेशन सम्पन्न भई नेतृत्व चयन भइसकेको उनले बताए।

जिल्लाका १० स्थानीय तहमध्ये खाँदबारी नगरपालिका र पाँचखपन नगरपालिकामा नेतृत्व चयनमा केही समय लागेको नेपाली कांग्रेस संखुवासभाका जिल्ला सचिव टकमान घलेले बताए। कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले नेतृत्व गर्छु भनेर अघि आउनु सकारात्मक पक्ष भएको उनले बताए।

उनका अनुसार सभापतिका उम्मेदवारहरूलाई एकै ठाउँमा राखेर छलफल गरेपछि सर्वसम्मत रूपमा सभापति चयन गरिएको हो। खाँदबारी नगरपालिकामा हेमन्त राई, धर्मदेवी नगरपालिकामा दिवश सोम्याङ, चैनपुर नगरपालिकामा लवकुमार श्रेष्ठ, मादी नगरपालिकामा कुलमणि दाहाल, पाँचखपन नगरपालिकामा टोपबहादुर तामाङ, सभापोखरी गाउँपालिकामा मणिसुन्दर राई, चिचिला गाउँपालिकामा लगनकुमार राई, सिलिचोङ गाउँपालिकामा संयोगान्त कुलुङ, मकालु गाउँपालिकामा दुर्गा पराजुली र भोटखोला गाउँपालिकामा पेननुर्बु भोटे सर्वसम्मत सभापतिमा चयन भएका छन्।

कांग्रेसको वडा अधिवेशनका क्रममा संखुवासभाका ७६ वटै वडामा विवाद नआई सर्वसम्मत रूपमा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका थिए। कार्यकर्तामा देखिएको यो हौसलाले आगामी दिनमा बदलिएको कांग्रेसलाई थप बलियो बनाउने गरी अघि बढेको देखिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपनकुमार श्रेष्ठले बताए।

पालिकास्तरीय अधिवेशनमा देखिएको सहजता र कार्यकर्ताको उत्साहले फेरि नेपाली कांग्रेसलाई देशकै सबैभन्दा बलियो शक्तिका रूपमा उभ्याउने उनले बताए। पछिल्लो समय कांग्रेस फुटेर नभई जुटेर अघि बढ्नुपर्ने अधिकांश कार्यकर्ताको माग रहेको पनि केन्द्रीय सदस्य श्रेष्ठले बताए।

नेपाली कांग्रेसको केन्द्रीय सर्कुलरअनुसार असोज २ र ४ गते वडा अधिवेशन तथा असोज ७ गते गाउँ–नगर अधिवेशन सम्पन्न भइसकेको छ। अब असोज १० र ११ गते प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको छ। केन्द्रीय अधिवेशन सम्पन्न भएपछि जिल्ला अधिवेशन र प्रदेश अधिवेशन सम्पन्न गर्ने नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

सुझावित समाचार