कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार हुने पालिका अधिवेशनले पार्टीको तल्लो तहमा युवा नेतृत्वको उपस्थिति बढाउने भएको छ । ३५ वर्षमुनिका युवालाई महिला र खुला दुवै समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको व्यवस्थाअनुसार पालिका कार्यसमितिमा नयाँ पुस्ताको सहभागिता बढ्नेछ ।
पालिका अधिवेशनबाट सभापतिसहित पाँच पदाधिकारी र विभिन्न समूहबाट सदस्य निर्वाचित हुँदै छन् । सभापति, १ महिलासहित २ उपसभापति, १ सचिव र १ सहसचिव गरी ५ पदाधिकारी निर्वाचित हुनेछन् । कोषाध्यक्ष भने सभापतिको प्रस्तावमा कार्यसमिति सदस्यबाट चयन हुने व्यवस्था छ ।
पालिका अधिवेशनबाट सदस्यमा एक महिला र दुई खुला ३५ वर्षमुनिका युवा आउनुपर्ने व्यवस्था विधानमा छ । त्यस्तै, प्रत्येक वडाबाट एक महिला र एक खुला तथा दलितबाट एक महिला र एक खुला सदस्य पनि निर्वाचित हुनेछन् । पालिका कार्यसमितिमा गाउँपालिकामा सात, नगरपालिकामा नौ, उपमहानगरपालिकामा ११ र महानगरपालिकामा १३ सदस्य मनोनयन गर्ने व्यवस्था छ ।
पालिका सभापति पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था पनि कांग्रेसले गरेको छ । यसअनुसार पालिका अधिवेशनबाट निर्वाचित सभापति स्वतः महाधिवेशन प्रतिनिधि बन्नेछन् ।
पालिका अधिवेशनपछि १० असोजमा प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछन् । क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमितिसँगै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । केन्द्रीय नेतृत्वका लागि उम्मेदवार बन्न पनि महाधिवेशन प्रतिनिधि हुनुपर्नेछ ।
भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङबाहेक देशभरका पालिकामा बुधबार एकै दिन अधिवेशन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए । उनका अनुसार बाढी प्रभावित तीन जिल्लामा भने अधिवेशनको तालिका फरक हुन सक्नेछ । पालिका सभापति पदेन महाधिवेशन प्रतिनिधि हुने वैधानिक व्यवस्था रहेको उनले बताए । ‘वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले पालिका नेतृत्व चयन गर्नेछन् । पालिका सभापति स्वतः महाधिवेशन प्रतिनिधि बन्ने भएकाले पालिका तहको निर्वाचनले महाधिवेशन प्रतिनिधि चयनको आधारसमेत तय गर्नेछ । पार्टीको नेतृत्व र नीति निर्माणमा तल्लो तहको मतलाई सुनिश्चित गरेका छौँ । यसले लोकतन्त्रलाई अझ बलियो बनाउँछ,’ चालिसेले भने ।
यसअघिका अधिवेशनमा तीव्र प्रतिस्पर्धा हुने गरे पनि यसपटक अधिकांश वडामा निर्विरोध वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । १६ देखि १९ असोजसम्म काठमाडौंमा १५औँ महाधिवेशन हुँदै छ । जिल्ला र प्रदेश अधिवेशन भने महाधिवेशनपछि गर्ने तयारी कांग्रेसको छ ।
केन्द्रीय निर्वाचन समितिले ७७ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइसकेको छ । पालिका अधिवेशनको समन्वय पनि जिल्ला निर्वाचन अधिकृतहरूले नै गरिरहेका छन् । ‘उहाँहरूले प्रतिनिधिहरू खटाइसक्नुभएको छ । पालिका अधिवेशनको सबै तयारी पूरा भएको छ । निर्धारित कार्यतालिकाअनुसार नै अधिवेशन सम्पन्न हुनेछ,’ केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले भने ।