प्रदेशस्तरीय ‘बी’ लेभल ब्याडमिन्टनको उपाधि प्रतीक र कर्णलाई

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

धनकुटामा आयोजित प्रदेशस्तरीय ‘बी’ लेभल पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रतीक विष्ट र कर्ण तामाङको जोडीले जितेको छ। फाइनलमा प्रतीक र कर्णको जोडीले सञ्जोकहाङ लिम्बू र प्रकाश राईको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।

प्रतियोगिताको तेस्रो स्थान अनमोल बुर्जामगर र उत्सव उप्रेती तथा विशाल पराजुली र रोमन राईको जोडीले जितेका छन्। त्यस्तै राष्ट्रियस्तरीय भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि गणेश राई र दीपक आङदेम्बेको जोडीले जितेको छ। राई र आङदेम्बेको जोडीले शिखर श्रेष्ठ र इन्द्रकुमार योङहाङको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो।

भेट्रान्सतर्फ तेस्रो स्थानमा मनोज लिम्बू र विजेन प्रधान तथा राम योञ्जन र श्रवणकुमार चौधरीको जोडी भएका छन्।

त्यस्तै, धनकुटा जिल्लास्तरीय ‘बी’ लेभल पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि करण लिम्बू र विपिन गौतमको जोडीले जितेको छ। लिम्बू र गौतमको जोडीले दीपक भुजेल र दुर्गा बस्नेतको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो।

जिल्लास्तरीय ‘बी’ लेभलतर्फ तेस्रो स्थानमा अनिल आले र ललित घिमिरे तथा दीपक लामा र दीपक बस्नेतको जोडी भएका छन्। प्रदेशस्तरीय ‘बी’ लेभलका विजेता जोडीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। उपविजेता जोडीले ३० हजार रुपैयाँ तथा तेस्रो हुने दुई जोडीले १०–१० हजार रुपैयाँ नगद प्राप्त गरेका छन्।

यता राष्ट्रियस्तरीय भेट्रान्सतर्फ विजेता जोडीले ४० हजार रुपैयाँ, उपविजेताले २४ हजार रुपैयाँ तथा तेस्रो हुने दुई जोडीले आठ–आठ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने जिल्लास्तरीय ‘बी’ लेभलतर्फ विजेता जोडीले ३० हजार रुपैयाँ, उपविजेताले १८ हजार रुपैयाँ तथा तेस्रो हुने दुई जोडीले ६–६ हजार रुपैयाँ प्राप्त गरेका छन्। खेल सटल धनकुटा स्पोर्टस् क्लबको आयोजना भएको थियो।

सुझावित समाचार