सोमबार १० बजेसम्मका प्रमुख १० खबर

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा लागेको विषय सामाजिक सन्जालबाट बाहिरिएपछि शिक्षामन्त्री सस्मित पोखरेलले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कारबाही गर्न निर्देशन दिएका हुन् । साथै, उनले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिलाई निगरानी गर्न पनि निर्देशन दिए।

यसैबिच, शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक दलका कार्यक्रममा सहभागिताबारे निगरानी गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ।

शुक्रबारदेखि तीन दिन देशभर वर्षाको प्रक्षेपण, केही क्षेत्रमा अत्यधिक वर्षाको आकलन

आगामी शुक्रबारदेखि तीन दिन देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै उत्तर अन्डमान सागर तथा आसपासमा विकसित न्यूनचापीय प्रणालीका कारण आइतबारसम्म वर्षा हुने बताएको हो।

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका केही स्थानमा समेत भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भूभाग आसपास छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र भई पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको महाशाखाले जनाएको छ।

भोटेकोशी बाढी : बाढीपीडितलाई भाडादेखि मोड्युलर घरसम्मको व्यवस्था गर्दै सरकार

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ। पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी कामलाई तीव्र गतिमा अगाडि बढाएका छन्।

यस क्रममा यी मन्त्रालयहरूलाई प्रभावित स्थानीय तहहरूले समेत सघाइरहेका छन्। पूर्वाधार विकास मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिमा विभिन्न विभागका चार महानिर्देशक र सबै प्रभावित क्षेत्रका पालिका प्रमुखहरू छन्। उनीहरूले आफ्नो क्षेत्रको आवश्यकताको विवरणहरू समितिलाई उपलब्ध गराइरहेका छन्।

सरकारले बाढी प्रभावित नागरिक आफैँले कोठा खोजी बस्न चाहेमा चारजनासम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र ४ भन्दा बढी सदस्य भए थप प्रतिव्यक्ति २ हजार रुपैयाँ उपलब्ध गराउनेछ। यो निर्णय मन्त्रिपरिषद्को बैठकबाट भइसकेको छ।

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु. ५२ अर्ब ६७ करोडको क्षति

भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछि गएको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा रु. ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार पाँच सयबराबरको प्रारम्भिक आर्थिक क्षति भएको प्रतिवेदन पेस गरिएको छ।

क्षतिग्रस्त पर्यटन क्षेत्रको पुनरुत्थान तथा भविष्यमा हुने विपतका लागि पूर्वतयारीलाई व्यवस्थित बनाउन पुनरुत्थान योजना मस्यौदा गर्ने जिम्मेवारीसमेत सम्बन्धित समितिलाई दिइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित पर्यटन क्षेत्रमा परेको प्रभाव तथा पुनरुत्थानसम्बन्धी प्रतिवेदन प्रस्तुति तथा छलफल कार्यक्रममा नेपाल पर्यटन बोर्डको द्रुत प्रतिक्रिया टोली (क्युआरटी) का संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमलाले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका हुन्।

एन्फाको निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको छ : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा)को निलम्बन फुकुवाका लागि फिफासँग उच्चस्तरीय पहल भइरहेको बताएका छन्। सोमबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले सो जानकारी दिएका हुन्।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली, २०७९ को व्यवस्थाअनुसार विधान संशोधनसहित तहगत निर्वाचन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बारम्बार सचेत गराउँदासमेत बेवास्ता गरेपछि एन्फा निलम्बनमा परेको उनले बताए।

नर्सिङ होमको शय्या थप्न घुस डिल : गण्डकीका स्वास्थ्य सचिव बसौलालाई जिम्मेवारीबाट हटाइयो, छानबिन समिति गठन

पोखरामा सञ्चालित एक नर्सिङ होमको शय्या थपका विषयमा आर्थिक सौदाबाजीमा जोडिएका गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि वसौलालाई जिम्मेवारीबाट हटाइएको छ।

पोखरा महानगरपालिका– ३ स्थित नदीपुरमा सञ्चालित ५० शय्याको पद्म नर्सिङ होमलाई सय शय्याको अनुमति प्रदान गर्ने विषयमा भएको आर्थिक सौदाबाजीमा प्रदेश सरकारका निवर्तमान स्वास्थ्य मन्त्री एवं नेकपा एमाले संसदीय दलका सदस्य लक्ष्मणबहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र मन्त्रालयका सचिव वसौला जोडिएको विषय सार्वजनिक भएपछि घटनाको छानबिनका लागि प्रदेश सरकारले तीन सदस्य छानबिन समिति गठन गरेको छ।

के छ ओलीको राजनीतिक प्रतिवेदनमा ?

नेकपा एमालेका अध्यक्ष केपी ओलीले गत फागुनमा भएको निर्वाचनको हारको जिम्मेवारी आफूले स्विकार्ने बताएका छन्। केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले भनेका छन्, ‘चुनावी परिणामको जिम्मेवारीबाट म भाग्दिनँ। अध्यक्षको रूपमा मेरो नैतिक जवाफदेही म स्वीकार गर्छु।’

तर, जिम्मेवारी स्वीकार गर्नु र मैदान छोड्नु एउटै कुरा नभएको तर्क गर्दै उनले नेतृत्व नछाड्ने प्रस्ट पारेका छन्। ‘जिम्मेवारी स्वीकार गर्नु भनेको घाइते शरीर छोडेर भाग्नु होइन, उपचारको अगुवाइ गर्नु हो। चिकित्सकले रोग देखेपछि अस्पताल छोड्दैन। किसानले बालीमा रोग लागेपछि खेत छोड्‌दैन। नेतृत्वले पनि संकटको वेला संगठनलाई अनिश्चिततामा छोड्दैन,’ प्रतिवेदनमा भनिएको छ।

त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक गम्भीर घाइते

काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्। आगलागीबाट गम्भीर घाइते लामालाई केहीबेर अघि कीर्तिपुरस्थित जलन अस्पताल पुर्याइएको छ। अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार लामाको शरीरमा ९० प्रतिशतभन्दा बढी जलन भएको छ।

‘उहाँको जलन व्यापक छ, ९० प्रतिशतभन्दा बढी छ। उपचार निकै कठिन देखिन्छ,’ डा. राईले भने, ‘शरीरको सबै भागमा अत्यधिक जलन भएको छ।’ उनका अनुसार घाइते लामा हाल बोल्न सक्ने अवस्थामा छैनन्।

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोर्खाका २५, गौतमश्रीको ६, शिव शिखरका १३, आइडियल यमुनाको ३, ओरिन्टल को-अपरेटिभका ३ र कान्तिपुर सहकारीका २९  साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

बसमा ‘आगलागी’को घटनापछि राहदानी वितरण सेवा प्रभावित

राहदानी विभाग परिसरअगाडि भएको बस ‘आगलागी’ घटनाका कारण विभागमा विद्युत् तथा इन्टरनेट सेवा प्रभावित हुँदा राहदानी छपाइ तथा वितरण सेवासमेत प्रभावित भएको छ।

विभागले सोमबार सूचना जारी गर्दै बस आगलागीका कारण विद्युत् र इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जनाएको हो। विद्युत् तथा इन्टरनेट सेवामा आएको अवरोधले राहदानी छपाइ प्रक्रियामा प्रत्यक्ष असर परेको र त्यसका कारण राहदानी वितरणमा कठिनाइ भएको विभागले जनाएको छ।

सुझावित समाचार