आर्थिक वर्ष ०८२/८३ को लेखापरीक्षण गर्न महालेखा परीक्षकको टोली पहिलोपटक गाउँका सिंहदरबारमा पुगेको छ । कालीकोटको महावै गाउँपालिकामा पहिलोपटक महालेखा परीक्षणको टोली लेखा परीक्षणका लागि पुगेको हो ।
यसभन्दा अघिल्ला आर्थिक वर्षहरूमा जिल्ला सदरमुकाममा नै लेखा परीक्षण गर्ने गरेको महालेखा परीक्षकको टोली पहिलोपटक महावै गाउँपालिकाको केन्द्रमा पुगेको गाउँपालिकाले जनाएको छ ।
पहिलोपटक महालेखा परीक्षणको टोलीलाई अन्तिम लेखा परीक्षणका लागि गाउँपालिका केन्द्र पादमघाटमा पुगेको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए। ‘पहिलोपटक पालिकास्तरमै परिचयात्मक बैठक गरी टोलीले आवश्यक कागजातहरू जुटाउन र बेरुजु आउन नदिने वा आएका बेरुजुहरूलाई तत्कालै फर्स्याेट गर्नेतर्फ लागेका छौँ,’ उनले भने, ‘गाउँपालिकाको आर्थिक कारोबार, लेखा प्रणाली तथा विभिन्न विकास निर्माण र कार्यक्रमसँग सम्बन्धित आर्थिक गतिविधिको परीक्षण तथा अनुगमनका लागि मलेपको टोली महावै पुगेको हो।’
गाउँपालिकामा सञ्चालन भएका योजना, कार्यक्रम, बजेट खर्च, आय–व्यय तथा आर्थिक व्यवस्थापनसम्बन्धी आवश्यक कागजात र विवरणको अध्ययन तथा परीक्षण गरिने महालेखा परीक्षकको टोलीले जनाइएको छ । मलेपको टोली गाउँपालिकामा पहिलोपटक पुगेपछि स्थानीय तहको आर्थिक अनुशासन, पारदर्शिता तथा वित्तीय व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष सिंहले बताए ।