नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरका १०२ वटै वडामा आइतबार एकैसाथ वडा अधिवेशन हुने भएको छ। जिल्ला निर्वाचन समितिले अधिवेशनका लागि मतदान अधिकृत खटाउनेदेखि अभिमुखीकरणसम्मका तयारी पूरा गरेको जनाएको छ। जिल्ला निर्वाचन अधिकृत अधिवक्ता राजकुमार उप्रेतीले जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न गर्ने गरी तयारी पूरा भएको जानकारी दिए।
उनका अनुसार सम्बन्धित वडामा मतदान अधिकृत खटाइसकिएको छ। उनीहरूलाई शुक्रबार र शनिबार दुई चरणमा निर्वाचन प्रक्रियासम्बन्धी अभिमुखीकरणसमेत दिइएको छ। ‘मकवानपुरका १०२ वटै वडामा आइतबार अधिवेशन गर्ने तयारी पूरा भएको छ,’ उनले भने, ‘मतदान अधिकृतहरू सम्बन्धित वडामा खटिइसक्नुभएको छ। उहाँहरूलाई दुई चरणमा अभिमुखीकरण पनि गरिसकेका छौँ।’
कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज ३ र ४ गते स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ। सोहीअनुसार मकवानपुरमा आइतबार एकै दिन सबै वडामा अधिवेशन गर्न लागिएको हो। केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर वडा तहको निर्वाचन तयारी अघि बढेको जनाएको छ।
वडा अधिवेशनमा वडा कार्यसमितिको निर्वाचनसँगै माथिल्लो तहका अधिवेशनमा सहभागी हुने क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ। वडा तहबाट चयन हुने प्रतिनिधिहरूले त्यसपछिका अधिवेशनमा भाग लिनेछन्। निर्वाचन अधिकृत उप्रेतीका अनुसार यसपटक युवा, पेसागत बुद्धिजीवी, श्रमिक, द्वन्द्व प्रभावित तथा प्रजातन्त्र सेनानीलगायत विभिन्न समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। ती समूहको सहभागिता सुनिश्चित हुने गरी निर्वाचन प्रक्रिया अघि बढाइएको उनले बताए।
वडा अधिवेशन सम्पन्न भएपछि गाउँपालिका तथा नगरपालिका तहको अधिवेशन असोज ७ गते हुनेछ। प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने कार्यतालिका रहेको उप्रेतीले जानकारी दिए। केन्द्रीय निर्वाचन समितिको परिमार्जित कार्यतालिकाअनुसार पनि वडा अधिवेशनपछि पालिका र क्षेत्रीय अधिवेशन क्रमशः असोज ७ र १० गते तोकिएको छ।
मकवानपुरमा अधिवेशनबारे विवाद छैन : सभापति लामा
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जिल्लामा वडा अधिवेशन सञ्चालनका विषयमा कुनै विवाद नरहेको बताए। उनले वडा तहदेखि नै कार्यकर्ताहरू अधिवेशनमा सक्रिय रूपमा सहभागी भइरहेको उल्लेख गरे।
लामाका अनुसार जिल्लामा १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा अघि बढाउने प्रयास भइरहेको छ। वडा अधिवेशनबाट सुरु हुने निर्वाचन प्रक्रियालाई सबै तहमा व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टीका स्थानीय संरचना सक्रिय रहेको उनले बताए।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ। केन्द्रीय निर्वाचन समितिले निर्धारित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रियामा सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता–कार्यकर्तालाई आग्रह गरेको छ।