सल्यानमा निःशुल्क आँखा शिविर, ६ सय ८७ जनाले लिए सेवा

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

सल्यानमा सञ्चालन गरिएको बृहत् निःशुल्क आँखा शिविरबाट ६८७ जनाले सेवा लिएका छन्। दृष्टिविहीनता न्यूनीकरण गर्ने उद्देश्यले शारदा नगरपालिका र सिद्ध कुमाख गाउँपालिकामा शिविर सञ्चालन गरिएको हो। शारदा नगरपालिका–पिपलनेटामा सञ्चालन गरिएको बृहत् निःशुल्क आँखा शिविरबाट तीन  सय १३ जनाले सेवा लिएका छन्।

शारदा नगरपालिका, हातेमालो नेपालगन्ज, रोटरी क्लब अफ धुलिखेल र रोटरी क्लब अस्ट्रेलियाको सहकार्यमा सञ्चालन गरिएको शिविरमा एक सय ९५ जना महिला र एक सय १८ जना पुरुष गरी जम्मा तीन सय १३ जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका हुन्। शिविरमा आँखा परीक्षण गरिएकामध्ये २२० जनालाई निःशुल्क चस्मा वितरण गरिएको शारदा नगरपालिकाले जनाएको छ।

त्यस्तै, सिद्ध कुमाख गाउँपालिका–३ ढोरचौरमा सम्पन्न शिविरमा १४६ जना पुरुष र २२८ जना महिला गरी ३७४ जनाले सेवा लिएका छन्। शिविरमा २ जना मोतियाबिन्दु भएका बिरामी फेला परेको र उनीहरूलाई शल्यक्रियाका लागि सल्लाह दिइएको गाउँपालिकाले जनाएको छ। आँखाको समस्या भएका २२६ जनालाई चस्मा वितरण गरिएको गाउँपालिका अध्यक्ष भरत गिरीले जानकारी दिए।

शिविर सञ्चालन गरिएको शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले दृष्टिविहीनता न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए। नगरपालिकाले नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उनले बताए।

आर्थिक अभाव वा भौगोलिक कठिनाइका कारण कुनै पनि नागरिक आँखाको उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले दृष्टिविहीनता न्यूनीकरण अभियान सञ्चालन गरिएको उनको भनाइ छ।

सुझावित समाचार